इमिग्रेसन न्युजिल्याण्डले भारतीय मूलका एक परिवारका आमाबाबुलाई न्युजिल्याण्डको स्थायी बसोबास अनुमति (पीआर) दिएको छ भने पाँच वर्षीय छोराको भिजिटर भिसा अस्वीकार गरेको छ।

इमिग्रेसन न्युजिल्याण्ड (आईएनजेड) ले स्वास्थ्य तथा शिक्षा सेवामा सरकारी लगानीमा ठूलो भार पर्न सक्ने ठहर गर्दै पाँच वर्षीय बालक आइधान निथिनलाई भिसा दिन अस्वीकार गरेको हो। उनको स्वास्थ्य प्रतिवेदनमा अटिज्म स्पेक्ट्रम डिसअर्डर तथा समग्र विकास ढिलाइ देखिएकाले भिसा अस्वीकार गरिएको जनाइएको छ। हाल उनी डिपोर्टको जोखिममा छन्।

नेल्सनमा हेल्थ केयर नर्सका रूपमा कार्यरत निथिन मान्किलका अनुसार उक्त निर्णयले परिवारलाई गम्भीर मानसिक तनावमा पारेको छ। उनले परिवारलाई अलग नपार्न सम्बन्धित निकायसँग आग्रह गरिरहेका छन्।

मान्किल जनवरी २०२४ मा भारतबाट न्युजिल्याण्ड आएका थिए। त्यसपछि उनकी श्रीमती अपर्णा जयन्धन गीथा र छोरा आइधान पनि न्युजिल्याण्ड आएका थिए। मान्किलको पेशा आईएनजेडको ‘ग्रीन लिस्ट’ अन्तर्गत टियर–१ मा परेपछि उनले ‘स्ट्रेट–टु–रेजिडेन्स’ भिसाका लागि आवेदन दिएका थिए, जसमा परिवारलाई सह–आवेदकका रूपमा समावेश गरिएको थियो।

आवेदन प्रक्रियाका क्रममा आइधानको बोली विकास ढिलो भएको विषय उठेपछि थप चिकित्सकीय परीक्षण गरिएको थियो। परीक्षणपछि उनलाई अटिज्म स्पेक्ट्रम डिसअर्डर र समग्र विकास ढिलाइ भएको पुष्टि भएको थियो। त्यसपछि आईएनजेडले मेडिकल वेभरका लागि थप प्रमाण पेस गर्न आग्रह गरेको थियो।

मान्किलका अनुसार आईएनजेडसँग लामो समयसम्म भएको पत्राचारपछि आइधानको नाम मूल आवेदनबाट हटाएर छुट्टै भिसा श्रेणीमा आवेदन दिन सुझाव दिइएको थियो। सोहीअनुसार मान्किल र उनकी श्रीमतीको भिसा स्वीकृत भए पनि आइधानको नयाँ भिजिटर भिसा आवेदन भने अस्वीकार गरियो।

आईएनजेडले मार्चमा लागू भएका नयाँ नियमअनुसार स्वास्थ्य र शिक्षा सेवामा ठूलो आर्थिक तथा संरचनागत दबाब पर्ने ठहर भएमा भिसा दिन नमिल्ने जनाएको छ। हाल आइधानसँग कुनै वैध भिसा नभएकाले उनी डिपोर्टको जोखिममा परेका छन्।

परिवारले मानवीय आधारमा स्वतन्त्र आप्रवासन तथा संरक्षण न्यायाधिकरणमा अपिल गरे पनि कानुनी समयसीमासम्बन्धी कारणले उक्त अपिल स्वीकार नभएको जनाइएको छ। सहायक आप्रवासन मन्त्री क्रिस पेनकसमक्ष गरिएको अपिलसमेत अस्वीकार भएको छ।

आईएनजेडले परिवारले दर्ता गरेको ‘सेक्सन ६१’ अन्तर्गतको विवेकाधीन अनुरोध हाल समीक्षा भइरहेको जनाएको छ। सो प्रक्रिया जारी रहँदासम्म कुनै आप्रवासन कारबाही नगरिने पनि आईएनजेडले स्पष्ट पारेको छ।

नेल्सनकी सांसद रेचल बोयाकले घटनालाई “अन्यायपूर्ण” भन्दै आवश्यक स्वास्थ्यकर्मी भित्र्याएर उनका सन्तानलाई डिपोर्ट गर्नु उचित नहुने प्रतिक्रिया दिएकी छन्। उनका अनुसार समुदायका हजारौं व्यक्तिले परिवारको समर्थनमा हस्ताक्षर संकलन गरेका छन् र समर्थन ¥यालीसमेत आयोजना गरिएको छ।

आईएनजेडका अधिकारीहरूले आप्रवासनसम्बन्धी स्वास्थ्य मापदण्ड सबै आवेदकमा समान रूपमा लागू गर्नुपर्ने बाध्यता रहेको बताएका छन्। यद्यपि, परिवारको अवस्थाप्रति सहानुभूति व्यक्त गर्दै प्रक्रिया मानवीय ढंगले अघि बढाइने जनाइएको छ।

मान्किलले आफू र श्रीमतीले न्युजिल्याण्डलाई स्थायी घर बनाउने उद्देश्यले सबै कुरा त्यागेर आएको उल्लेख गर्दै छोराबाट अलग हुने अवस्था असह्य हुने बताएका छन्।