अकल्याण्ड । न्युजिल्याण्डको राजनीतिक माहोलमा आप्रवासी समुदायलाई लिएर बढ्दो आरोप–प्रत्यारोपबीच लेबर पार्टीका नेता विली ज्याक्सनले एक्ट पार्टी र न्युजिल्याण्ड फर्स्टमाथि कडा आलोचना गरेका छन् ।
उनले विन्स्टन पिटर्स र डेभिड सीमोरले चुनावी लाभका लागि आप्रवासी समुदायलाई दोष दिने राजनीति गरिरहेको आरोप लगाएका हुन् । ज्याक्सनले आर्थिक समस्या र मन्दीको जिम्मा आप्रवासीमाथि थोपर्न खोज्नु “आलसी र क्रूर राजनीति” भएको बताएका छन् ।
उनका अनुसार न्युजिल्याण्डको अर्थतन्त्र कमजोर हुनुमा यहाँ काम गर्न आएका आप्रवासीहरू दोषी नभई सरकारका नीतिगत कमजोरी जिम्मेवार छन् । उनले विभिन्न समुदायबीच डर र शंका फैलाएर मत तान्ने प्रयास भइरहेको टिप्पणी गरे ।
ज्याक्सनले समाज अघि बढ्न सबै समुदायबीच सहकार्य आवश्यक रहेको उल्लेख गर्दै विभाजनकारी राजनीति अस्वीकार गर्नुपर्ने बताए । “न्युजिल्याण्ड सम्भावना बोकेको सकारात्मक देश हो । हामीले एक–अर्कालाई दोष दिने होइन, मिलेर काम गर्ने वातावरण बनाउनुपर्छ,” उनले भने ।
उनले लेबर पार्टीले साझा हित, सामाजिक एकता र सबै समुदायको सहकार्यमा विश्वास गर्ने उल्लेख गर्दै एक्ट र न्युजिल्याण्ड फर्स्टले भने डर र असन्तोषको राजनीति गरिरहेको आरोप लगाए ।
न्युजिल्याण्डमा पछिल्लो समय आप्रवासन, नागरिकता र राष्ट्रिय मूल्यबारे बहस चर्किंदै गएको छ । आगामी चुनावलाई लक्षित गर्दै विभिन्न दलहरूले आप्रवासन नीतिलाई मुख्य राजनीतिक एजेन्डा बनाउन थालेपछि यस विषयमा राजनीतिक आरोप–प्रत्यारोप समेत बढ्दै गएको छ ।
