अष्ट्रेलियाबाट चिनियाँ तथा प्रशान्त क्षेत्रका योग्य पर्यटकलाई भिसाको सट्टा New Zealand Electronic Travel Authority (एनजेटा) मार्फत न्युजिल्यान्ड प्रवेश गर्न दिइएको नयाँ व्यवस्थाले देशको पर्यटन क्षेत्रमा उत्साहजनक प्रभाव पारेको छ।
परिवर्तन लागू भएको तीन महिनापछि गरिएको सर्वेक्षणले यो सुविधा नै न्युजिल्यान्ड भ्रमण गर्ने मुख्य कारण बनेको देखाएको छ। सर्वेक्षणमा सहभागी ८५ प्रतिशतले एनजेटा सुविधा उपलब्ध भएपछि मात्र न्युजिल्यान्ड आउने निर्णय गरेको बताएका छन्। चिनियाँ पर्यटकमध्ये ८५ प्रतिशत र प्रशान्त टापु फोरम राष्ट्रका ८२ प्रतिशत आगन्तुकले यस व्यवस्थाका कारण यात्रा सम्भव भएको उल्लेख गरेका छन्।
प्रक्रिया छिटो, सरल र झन्झटमुक्त भएकाले पर्यटकले सहज रूपमा यात्रा योजना बनाउन सकेका छन्। कम खर्च, कम कागजी प्रक्रिया र छोटो समयमै स्वीकृति प्राप्त हुने भएकाले यो व्यवस्था अझ आकर्षक बनेको छ।
भिसा (सीमा) निर्देशक Sarah Clifford ले यो प्रतिक्रिया परिवर्तनको उद्देश्य सफल भएको संकेत भएको बताउनुभयो। उहाँका अनुसार ३ नोभेम्बरयता चीन र प्रशान्त देशका नागरिकबाट ४७ हजारभन्दा बढी आवेदन प्राप्त भएका छन् र तीमध्ये २८ हजार ५ सयभन्दा बढी पर्यटक न्युजिल्यान्ड आइपुगेका छन्।
सर्वेक्षणअनुसार ९६ प्रतिशत उत्तरदाताले आवेदन प्रक्रिया सहज र तनावमुक्त रहेको बताएका छन्। अधिकांशले एकदेखि दुई दिनभित्रै निर्णय प्राप्त गरेका थिए, जसले सेवा प्रणालीप्रति विश्वास थपेको छ।
पर्यटन न्युजिल्यान्डको अर्थतन्त्रको महत्वपूर्ण आधार हो। प्रारम्भिक नतिजाले यो नयाँ सुविधा यात्रु र अर्थतन्त्र दुवैका लागि लाभदायक सावित भइरहेको स्पष्ट संकेत गरेको छ।
