संयुक्त अरब इमिरेट्स (यूएई) को राजधानी आबुधाबीको अज्बान क्षेत्रमा हवाई सुरक्षा प्रणालीले ड्रोन र मिसाइल अवरोध गर्दा निस्किएका अवशेष खस्दा ७ नेपाली नागरिक घाइते भएका छन्। घाइतेमध्ये ६ जनाको अवस्था सामान्य–मध्यम छ भने १ नेपाली गम्भीर घाइते भएको विभिन्न समाचारमा उल्लेख छ। सो घटनामा ५ भारतीय नागरिक पनि घाइते भएका छन्।

यूएई रक्षा मन्त्रालयले अवरोध सफल भएको बताउँदै अवशेषले क्षेत्रका विभिन्न स्थानमा क्षति पुर्‍याएको जनाएको छ। आपतकालीन उद्धार टोली परिचालन गरी घाइतेहरू अस्पताल पठाइएका छन्।

अज्बान क्षेत्र अबुधाबीको अल ऐनको उत्तरतर्फ र दुबई–अल ऐन सिमानासँग नजिक छ। हब्सन ग्यास उद्योग क्षेत्रमा पनि अवशेष खस्दा आगलागी भएको छ तर मानवीय क्षति भने भएको छैन।

सरकारी अधिकारीहरूले सर्वसाधारणलाई आधिकारिक सूचना मात्र विश्वास गर्न र अफवाह नफैलाउन अनुरोध गरेका छन्।

गत फागुनमा इरानको ड्रोन हमलामा गोरखाका २९ वर्षीय दिवस श्रेष्ठको मृत्यु भएको थियो।