साफ महिला क्लब च्याम्पियनसिपमा भूटानको ट्रान्सपोर्ट युनाइटेडले पहिलो जित निकाल्दै प्रतियोगिताको सुखद अन्त्य गर्ने अवसर गुमाएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको लिगको अन्तिम खेलमा ट्रान्सपोर्ट बंगलादेशको नासरिन एफसीसँग १–१ को बराबरीमा रोकियो।

पाँच टोली सहभागी प्रतियोगितामा दुवै टोली पहिलो जित र पहिलो गोलको खोजीमा मैदान उत्रिएका थिए। खेलको अन्तिम क्षणमा अग्रता गुमाउँदा ट्रान्सपोर्ट जितबाट टाढा रह्यो। खेल सकिन तीन मिनेट बाँकी रहँदा नासरिनकी सौरभी प्रीतिले गोल गर्दै खेल बराबरीमा ल्याइन्। ट्रान्सपोर्टका लागि कप्तान पेमा छोदेन छिरिङले गोल गरेकी थिइन्।

खेलको १२औँ मिनेटमै ट्रान्सपोर्टले अग्रता लिने राम्रो अवसर बनायो। दोर्जी इडोनको पेनाल्टी बक्सभित्रको प्रहार नासरिनकी गोलकिपर मेघला रानी रोयले उत्कृष्ट बचाउ गरिन्। त्यसको एक मिनेटपछि नासरिनले पनि अवसर सिर्जना गर्‍यो, तर तृष्ण रानीको प्रहार ट्रान्सपोर्टकी गोलकिपर संगीता मोङ्गेरले रोकिन्।

२३औँ र २८औँ मिनेटमा ट्रान्सपोर्टले गोल गर्ने थप अवसर गुमायो। कप्तान पेमाको क्रसमा देकी लाजोमले अवसर सदुपयोग गर्न सकिनन् भने लाजोमकै हेडरलाई गोलकिपर मेघलाले उत्कृष्ट बचाउ गरिन्। ३८औँ मिनेटमा भने ट्रान्सपोर्टले अग्रता लियो। दोर्जी इडोनको पासमा कप्तान पेमाले पेनाल्टी बक्स बाहिरबाट दोस्रो बार च्याप्दै शानदार गोल गरिन्। यो ट्रान्सपोर्टको प्रतियोगितामा पहिलो गोल पनि हो। पहिलो हाफ ट्रान्सपोर्ट १–० ले अगाडि रह्यो।

दोस्रो हाफमा नासरिनले बराबरीको प्रयास तीव्र बनायो। ५८औँ मिनेटमा सौरभी प्रीतिको प्रहारलाई गोलकिपर संगीताले कठिन बचाउ गर्दै टोलीलाई जोगाइन्। ६२औँ मिनेटमा ट्रान्सपोर्टको अग्रता दोब्बर बनाउने अवसर आए पनि यशी बिधाको लेफ्ट–फुटेड सट दोस्रो बारमा लागेर फर्कियो। त्यसलगत्तै येशी छोदेनको प्रहारलाई नासरिनकी गोलकिपरले रोकिन्।

८७औँ मिनेटमा सौरभी प्रीतिले एकल प्रयासमा चार डिफेन्डरलाई छिचोल्दै पेनाल्टी बक्सभित्रबाट उत्कृष्ट गोल गर्दै नासरिनलाई बराबरीमा ल्याइन्। यो नासरिनको प्रतियोगितामा पहिलो गोल पनि हो। त्यसपछि थप गोल हुन सकेन र खेल १–१ को बराबरीमा सकियो।

यससँगै ट्रान्सपोर्ट र नासरिन दुवै टोली जितविहीन रहँदै प्रतियोगिताबाट बाहिरिएका छन्। ट्रान्सपोर्टले तीन बराबरी र इस्ट बंगालसँग एक हार बेहोरेको थियो भने नासरिनले दुई बराबरी र दुई हार खेप्यो।

पाँच टोली सहभागी लिग चरणपछि शीर्ष दुई स्थानमा रहँदै नेपाल पुलिस क्लब (एपिएफ) र भारतको इस्ट बंगाल उपाधिका लागि भिड्नेछन्। त्यसअघि लिगको अन्तिम खेलमा बुधबार नै एपिएफ र इस्ट बंगाल आमनेसामने हुनेछन्।
– न्युज एजेन्सी नेपाल