न्युजिल्याण्डका लागि नेपालको अवैतनिक वाणिज्यदूत दिनेश खड्काले अकल्याण्डमा प्रत्येक वर्ष आयोजना हुँदै आएको नेपाल फेस्टिवलको निरन्तरताको कामना गर्दै आगामी ११ अप्रिलमा अकल्याण्डमा हुन लागेको फेस्टिवल सफल बनाउन सबैसँग अपिल गर्नुभएको छ। उहाँले यसलाई नियमित सांस्कृतिक उत्सवका रूपमा स्थापित भएकोमा खुशी व्यक्त गर्दै यसलाई सफल बनाउन सबैको सहयोग र सहभागिताको खाँचो औंल्याउनुभएको छ।

नेपाल फेस्टिवलले न्युजिल्याण्डमा रहेका नेपाली समुदायलाई एकताबद्ध गर्दै नेपाली कला, संस्कृति, परम्परा र सामुदायिक भावनालाई व्यापक समाजसमक्ष प्रस्तुत गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको पनि खड्काले बताउनुभएको छ।

वाणिज्यदूत खड्काले सन्देश जारी गर्दै आफू न्युजिल्याण्ड नेपाल सोसाइटीको अध्यक्षका रूपमा रहँदा न्युजिल्याण्डमै पहिलोपटक खुला स्थानमा नेपाल फेस्टिवल आयोजना गर्ने पहल गरिएको स्मरण गर्नुभयो। त्यसबेला समुदायलाई एउटै साझा मञ्चमा ल्याउने र नेपालको समृद्ध सांस्कृतिक सम्पदालाई न्युजिल्याण्डको बहुसांस्कृतिक समाजसमक्ष प्रस्तुत गर्ने स्पष्ट उद्देश्यका साथ कार्यक्रम सुरु गरिएको उहाँले उल्लेख गर्नुभयो।

उहाँका अनुसार आज त्यो पहल वार्षिक रूपमा स्थापित र सफल कार्यक्रमका रूपमा विकसित भएको देख्नु विशेष गौरवको विषय हो। नेपाल फेस्टिवलको निरन्तरता र विस्तारले न्युजिल्याण्डमा बसोबास गर्ने नेपाली समुदायको एकता, सक्रियता, आत्मविश्वास र सांस्कृतिक पहिचानप्रतिको गर्वलाई झल्काएको उहाँले बताउनुभयो।

वाणिज्यदूत खड्काले नेपाल फेस्टिवल २०२६ सफलतापूर्वक सम्पन्न होस् भन्ने शुभकामना व्यक्त गर्दै आयोजक टोलीलाई पूर्ण सफलता मिलोस् भनी कामना गर्नुभएको छ। उहाँले सम्पूर्ण नेपाली समुदायलाई एकताबद्ध भई आफ्नो संस्कृति, सम्पदा र सामुदायिक भावना उत्सवका रूपमा मनाउन आह्वान गर्नुभएको छ। अकल्याण्डमा पुनः एकपटक भव्य, मर्यादित र अविस्मरणीय नेपाल फेस्टिवल आयोजना हुने विश्वास व्यक्त गर्दै उहाँले उक्त कार्यक्रमले नेपाल–न्युजिल्याण्ड सम्बन्धलाई अझ सुदृढ बनाउन सहयोग पुग्ने अपेक्षा गर्नुभएको छ।