अकल्याण्ड । नेपाली रक सङ्गीतका चर्चित तथा लोकप्रिय ब्यान्ड ‘मुक्ति एण्ड रिभाइभल’ आफ्नो ३० वर्षे सांगीतिक यात्राको विशेष उत्सव मनाउन न्युजिल्याण्डको अकल्याण्ड आउँदै छन् । नेपाली सङ्गीतप्रेमीहरूका लागि बहुप्रतीक्षित यस कन्सर्टको तयारी तीव्र रूपमा अघि बढिरहेको आयोजकले जनाएको छ ।
आगामी जुलाई ५ मा अकल्याण्डस्थित द ट्युनिङ फोर्क मा आयोजना हुने कार्यक्रममा ब्यान्डले तीन दशक लामो सांगीतिक यात्राका चर्चित तथा सदाबहार गीतहरू प्रस्तुत गर्नेछ । नेपाली रक सङ्गीतलाई नयाँ उचाइमा पुर्याएको ब्यान्डको प्रस्तुति हेर्न दर्शकमाझ उत्साह बढ्दै गएको छ ।
आयोजकका अनुसार पहिलो चरणको टिकट बिक्री सुरु भइसकेको छ । टिकटको मूल्य क्रमशः फेज–१ मा ६५ डलर, फेज–२ मा ७० डलर र कार्यक्रमस्थलमा ७५ डलर निर्धारण गरिएको छ। टिकट दर बढ्नुअघि नै सुरक्षित गर्न दर्शकलाई आग्रह गरिएको छ ।
‘मुक्ति एण्ड रिभाइभल’ नेपाली सङ्गीत इतिहासको एक प्रतिष्ठित नाम हो । ब्यान्डका गीतहरूले पुस्तौंदेखि नेपाली श्रोताको मन जित्दै आएका छन् । यही कारण अकल्याण्डमा हुन लागेको यो विशेष कार्यक्रमलाई नेपाली समुदायले वर्षकै चर्चित सांगीतिक उत्सवका रूपमा लिएका छन् ।
आयोजकले “हामी दन्त्यकथा समान कलाकारहरू ल्याउँछौँ, तपाईंहरू आफ्नो माया र सम्मान लिएर आउनुहोस्” भन्ने सन्देशसहित कार्यक्रममा सहभागी भई नेपाली रक सङ्गीतको ऐतिहासिक यात्राको साक्षी बन्न सबैलाई आग्रह गरेको छ ।
यस कार्यक्रमले विदेशमा रहेका नेपालीलाई आफ्ना प्रिय कलाकारसँग पुनः जोड्ने मात्र नभई नेपाली भाषा, कला र सङ्गीतप्रतिको अपनत्वलाई अझ बलियो बनाउने अपेक्षा गरिएको छ ।
