न्युजिल्यान्ड लेबर पार्टीका नेता क्रिस हिप्किन्सले आफूले नेतृत्व गर्ने कुनै पनि सरकारमा न्युजिल्यान्ड फर्स्टसँग सहकार्य नगर्ने स्पष्ट घोषणा गरेका छन्। आगामी नोभेम्बर ७ मा हुने आमनिर्वाचनलाई लक्षित गर्दै हिप्किन्सले सोमबार पार्टीको अडान औपचारिक रूपमा सार्वजनिक गरेका हुन्।

न्युजिल्यान्ड फर्स्टका नेता विन्स्टन पिटर्सले यसअघि नै लेबरसँग सहकार्य नगर्ने बताउँदै आएका थिए। त्यसको प्रत्युत्तरस्वरूप हिप्किन्सले सोमबार औपचारिक रूपमा न्युजिल्यान्ड फर्स्टसँग सहकार्य नगर्ने स्पष्ट पारेका हुन्। उनले यसअघि पनि न्युजिल्यान्ड फर्स्टसँग पुनः सरकार बनाउने सम्भावना ‘निकै कम’ रहेको बताउँदै आएका थिए।

हिप्किन्सले भने, “विन्स्टन पिटर्सले हामीलाई अस्वीकार गरिसक्नुभएको छ। म पनि उहाँलाई अस्वीकार गर्न पाउँदा खुसी छु। अब यो हुनेवाला छैन।”

हिप्किन्सले न्युजिल्यान्ड फर्स्टको पछिल्लो राजनीतिक व्यवहारप्रति असन्तुष्टि जनाउँदै आफूले नेतृत्व गर्ने सरकारमा खुला रूपमा जातीय विभेदलाई प्रश्रय दिने कुनै पनि व्यवहार स्वीकार्य नहुने बताएका छन्।

“मैले नेतृत्व गर्ने कुनै पनि सरकारमा खुला जातीय विभेदलाई स्थान दिइने छैन,” हिप्किन्सले भने। उनले यस्तो व्यवहारमा न्युजिल्यान्ड फर्स्ट र पिटर्स संलग्न रहेको आरोपसमेत लगाए।

यसैबीच, हिप्किन्सको घोषणापछि न्युजिल्यान्ड फर्स्टका नेता विन्स्टन पिटर्सले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाएका छन्। उनले हिप्किन्सको निर्णयलाई व्यंग्य गर्दै उनको राजनीतिक निर्णय क्षमतामाथि प्रश्न उठाएका छन्।

पिटर्सका अनुसार न्युजिल्यान्ड फर्स्टले हिप्किन्स नेतृत्वको लेबर पार्टीसँग चार वर्षअघि नै सहकार्य नगर्ने स्पष्ट गरिसकेको थियो। त्यसपछि पनि करिब १२ महिनाअघि र त्यसयता पटक–पटक यही अडान दोहोर्‍याउँदै आएको उनको भनाइ छ।

यसरी दुवै दलका नेताले एक–अर्कासँग सहकार्य नगर्ने स्पष्ट अडान लिएपछि आगामी निर्वाचनपछि बन्न सक्ने सरकारको गठबन्धन समीकरणमा न्युजिल्यान्ड फर्स्टको भूमिकालाई लिएर रहेको अन्योलसमेत केही हदसम्म हटेको छ।