काठमाडौं – एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा निर्वाचनको परिणाम अपेक्षाअनुसार नआए पनि जनताको मतलाई पूर्ण रूपमा सम्मान गर्ने बताएका छन्।
बिहीबार सामाजिक सञ्जालमार्फत मतदाताहरूलाई धन्यवाद दिँदै उनले लोकतान्त्रिक व्यवस्थामा अन्तिम निर्णय जनताकै हुने उल्लेख गरेका छन्। यस पटकको निर्वाचनमा आफूले अपेक्षा गरेजस्तो परिणाम प्राप्त गर्न नसकेको स्वीकार गर्दै उनले जनताको निर्णयलाई शिरोधार्य गर्ने बताएका हुन्।
यस निर्वाचनमा नेकपा (एमाले) ले प्रत्यक्षतर्फ जम्मा ९ सिट मात्र जितेको छ। ओली स्वयं पनि झापा–५ बाट पराजित भएका छन्।

ओलीले सामाजिक सञ्जालमा लेखेका छन्, “यस पटकको निर्वाचनमा मैले अपेक्षा गरेजस्तो परिणाम प्राप्त गर्न सकिनँ। हाम्रो पार्टीले पनि अपेक्षित परिणाम ल्याउन सकेन। लोकतन्त्रमा अन्तिम फैसला जनताकै हुन्छ, र त्यो फैसला शिरोधार्य गर्नु म र मेरो पार्टीको कर्तव्य हो। जनताको मतलाई म पूर्ण सम्मानका साथ स्वीकार गर्दछु।”
उनले एमालेको पक्षमा मतदान गर्ने मतदाताप्रति आभार व्यक्त गर्दै उनीहरूको विश्वास नै पार्टीको शक्ति भएको बताएका छन्। परिणाम आफ्नो पक्षमा नआए पनि जनताप्रतिको प्रतिबद्धता र सेवाभाव कमजोर नहुने उनको भनाइ छ।
“हामी जनताकै बीचमा रहनेछौँ, जनताकै लागि काम गरिरहनेछौँ र विश्वासको यो सम्बन्धलाई अझ बलियो बनाउँदै अघि बढ्नेछौँ। मत दिनुहुने, साथ दिनुहुने र विश्वास राख्नुहुने सबैप्रति हृदयदेखि धन्यवाद,” उनले भनेका छन्।
