अकल्याण्ड। न्युजिल्याण्डमा युवाहरूको नेतृत्वमा सक्रिय सामाजिक संस्था हाम्रो एकता इन्कर्पोरेटेडले आयोजना गर्न लागेको ‘तीज मेला २०२६’ को तयारी तीव्र रूपमा अघि बढेको छ। संस्थाले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत कार्यक्रमसम्बन्धी नियमित जानकारी सार्वजनिक गर्दै अकल्याण्ड तथा वरपरका क्षेत्रहरूमा बसोबास गर्ने सम्पूर्ण नेपाली समुदायलाई परिवारसहित कार्यक्रममा सहभागी हुन आग्रह गरेको छ।
आयोजकका अनुसार यस वर्षको तीज मेलालाई नेपाली संस्कृति, परम्परा, संगीत र सामुदायिक एकताको उत्सवका रूपमा भव्य रूपमा मनाउने तयारी भइरहेको छ। कार्यक्रममा नेपालका चर्चित लोकदोहोरी गायक खेम सेन्चुरी र लोकप्रिय गायिका समीक्षा अधिकारी ले विशेष सांगीतिक प्रस्तुति दिनेछन्। उनीहरूसँगै नेपाली गीत–संगीत, सांस्कृतिक नृत्य तथा मनोरञ्जनात्मक प्रस्तुति रहने भएकाले कार्यक्रम अझ आकर्षक बन्ने आयोजकको अपेक्षा छ।
कार्यक्रम आगामी सेप्टेम्बर ७, २०२६ (सोमबार) साँझ ६ बजेदेखि अकल्याण्डस्थित महात्मा गान्धी सेन्टरमा आयोजना हुनेछ । आयोजकका अनुसार कार्यक्रममा सहभागी हुन सामान्य प्रवेश शुल्क २५ न्युजिल्याण्ड डलर निर्धारण गरिएको छ। विद्यार्थीहरूका लागि २० डलर तथा १२ वर्षमुनिका बालबालिकाका लागि प्रवेश निःशुल्क रहने व्यवस्था गरिएको छ।
संस्थाले कार्यक्रममा सहभागी हुने सबैका लागि नेपाली परिकारसहितको भोजनको व्यवस्था गरिएको जनाएको छ। प्रवेश शुल्कमै भोजन समावेश भएकाले सहभागीहरूले कुनै अतिरिक्त शुल्क तिर्नुपर्ने छैन।
आयोजकले तीज मेला केवल सांगीतिक कार्यक्रम मात्र नभई विदेशमा रहेका नेपालीहरूलाई एकै ठाउँमा भेला हुने, आपसी सम्बन्ध सुदृढ गर्ने तथा नेपाली भाषा, कला र संस्कृतिलाई नयाँ पुस्तासम्म हस्तान्तरण गर्ने महत्वपूर्ण अवसरका रूपमा लिएको संस्थाको अध्यक्ष सौरभ बस्नेतले हिमालपारीलाई बताए ।
कार्यक्रमलाई सफल बनाउन विभिन्न प्रायोजक तथा साझेदार संस्थाहरूले सहयोग गरिरहेको जानकारी दिँदै अध्यक्ष बस्नेतले न्युजिल्याण्डभर रहेका नेपाली समुदायलाई परिवार, साथीभाइ र आफन्तसहित उपस्थित भई तीज पर्वको उल्लासपूर्ण उत्सव मनाउन भन्दै सामुहिक निमन्त्रणा समेत गरेको छ।
