काठमाडौं। प्रधानमन्त्री बालेन शाहले मधेशबाट प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक दलका नेताहरूसँग छलफल सुरु गरेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी छलफलमा सुनसरीसहित मधेशका केही जिल्लामा पछिल्लो समय देखिएको तनाव र त्यसको समाधानका उपायबारे केन्द्रित भएर छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

बैठकमा सामाजिक सद्भाव कायम गर्ने, सम्भावित तनावलाई थप फैलिन नदिने तथा राजनीतिक संवादमार्फत समाधान खोज्ने विषयमा छलफल भइरहेको बताइएको छ।

प्रधानमन्त्रीसँगको छलफलमा मधेश क्षेत्रका विभिन्न राजनीतिक दलका नेताहरू सहभागी छन्। सहभागी हुने नेताहरूमा डा. सीके राउत, महन्थ ठाकुर, राजेन्द्र महतो, लालबाबु राउत, समिम मियाँ अन्सारी, राम के शर्मा, प्रभु शाह, अमरेशकुमार सिंह, शरतसिंह भण्डारी र जयकान्त राउतलगायत रहेका छन्।

सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको घटनापछि केही क्षेत्रमा तनावको अवस्था सिर्जना भएको छ। उक्त घटनापछि सरकारमाथि शान्ति तथा सामाजिक सद्भाव कायम गर्न थप पहल गर्न दबाब बढिरहेको छ।

यसअघि बिहीबार प्रधानमन्त्री शाहले पछिल्लो समय मधेशमा विकसित घटनाक्रमबारे देशवासीका नाममा सम्बोधन गरेका थिए। सम्बोधनपछि उनले राष्ट्रपति रामचन्द्र पौडेल र उपराष्ट्रपति रामसहाय यादवसँग पनि भेटवार्ता गरी पछिल्लो अवस्थाबारे छलफल गरेका थिए।

प्रधानमन्त्री शाहले सुरक्षा संयन्त्रलाई प्रभावकारी रूपमा परिचालन गर्दै संवाद र सहकार्यबाट समस्या समाधान गर्ने सरकारको प्राथमिकता रहेको बताएका छन्।

सरकारले पछिल्लो अवस्थालाई संवेदनशील रूपमा लिँदै राजनीतिक दल, स्थानीय प्रतिनिधि र समुदायका अगुवासँग समन्वय गरेर सामाजिक सद्भाव कायम राख्ने प्रयास गरिरहेको छ।