काठमाडौं। सुनसरीको देवानगञ्जमा उत्पन्न तनावपूर्ण घटनाक्रम, सामाजिक सद्भाव र समसामयिक राष्ट्रिय राजनीतिक विषयमा साझा धारणा बनाउन प्रमुख राजनीतिक दलहरूको सर्वदलीय बैठक बुधबार सिंहदरबारमा सम्पन्न भएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको हलमा बसेको बैठकमा नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), जनमत पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायतका दलका शीर्ष नेताहरू सहभागी भएका थिए।

बैठकमा नेपाली कांग्रेसका सभापति गगनकुमार थापा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेल, जनमत पार्टीका अध्यक्ष डा. सीके राउत, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, अर्थमन्त्री स्वर्णिम वाग्ले, कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेलगायतका नेताहरूको उपस्थिति रहेको थियो।

बैठकमा देवानगञ्ज घटनाको समीक्षा, सामाजिक सद्भाव कायम गर्ने उपाय, राजनीतिक सहमति र शान्ति स्थापना गर्ने विषयमा विस्तृत छलफल भएको जनाइएको छ।

प्रधानमन्त्रीले तत्काल सर्वदलीय संवादको पहल गर्नुपर्छ : प्रचण्ड

बैठकलाई सम्बोधन गर्दै नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुनसरीमा देखिएको तनाव समाधानका लागि प्रधानमन्त्रीले तत्काल सबै राजनीतिक दललाई विश्वासमा लिएर सर्वदलीय संवाद र सहमतिको प्रक्रिया अघि बढाउनुपर्ने आवश्यकता औँल्याए।

उनले संवेदनशील परिस्थितिमा सबै पक्षले संयमता अपनाउँदै सामाजिक सद्भाव, आपसी विश्वास र राष्ट्रिय एकतालाई प्राथमिकतामा राख्नुपर्ने बताए।

प्रचण्डले विगतमा भूकम्प, बाढी–पहिरो, कोभिड–१९ महामारी तथा संविधान निर्माणजस्ता चुनौतीपूर्ण परिस्थितिमा राजनीतिक दलहरूले साझा सहमति र राष्ट्रिय एकताको उदाहरण प्रस्तुत गरेको स्मरण गर्दै अहिले पनि त्यही राजनीतिक परिपक्वता आवश्यक रहेको धारणा राखे।

उनले बल प्रयोग कुनै पनि समस्याको दीर्घकालीन समाधान हुन नसक्ने उल्लेख गर्दै संवाद, सहमति र राजनीतिक समझदारीमार्फत मात्रै वर्तमान परिस्थितिलाई सहज बनाउन सकिने बताए।

प्रचण्डले आफ्नो पार्टीले सुनसरी घटनाबारे आधिकारिक धारणा सार्वजनिक गरिसकेको र स्थानीय तहमा सामाजिक सद्भाव कायम राख्न पार्टी पंक्तिलाई संयमता अपनाउन निर्देशन दिइएको जानकारी पनि दिए।

उनका अनुसार घटनास्थलमा स्थानीय व्यक्तिसँगै बाहिरबाट वातावरण भड्काउन खोज्ने तत्त्वसमेत सक्रिय हुन सक्ने भएकाले सबै पक्ष उच्च सतर्क रहन आवश्यक छ।

उनले घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउनुपर्ने तथा राजनीतिक दल, सरकार र सरोकारवाला निकायले शान्ति, सद्भाव र विश्वास कायम राख्न संयुक्त रूपमा अघि बढ्नुपर्नेमा जोड दिए।

सामाजिक सद्भाव नेपाली समाजको साझा सम्पत्ति : गगन थापा

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले रास्वपाले सबै राजनीतिक दललाई एउटै मञ्चमा ल्याउने पहल गरेकोमा धन्यवाद व्यक्त गर्दै वर्तमान परिस्थितिमा सबै दलबीच साझा दृष्टिकोण निर्माण आवश्यक रहेको बताए।

उनले धार्मिक सहिष्णुता र सामाजिक सद्भाव नेपाली समाजले वर्षौंदेखि निर्माण गरेको साझा सम्पत्ति भएकाले यसलाई कुनै पनि परिस्थितिमा कमजोर हुन दिन नहुने बताए।

थापाले कुनै पनि नागरिक आवेग र उत्तेजनामा नआइ धैर्य, संयम र संवादमार्फत समस्याको समाधान खोज्नुपर्नेमा जोड दिए। उनले कांग्रेसले आफ्ना नेता, कार्यकर्ता तथा स्थानीय जनप्रतिनिधिलाई समेत संयमता अपनाउन र सामाजिक सद्भाव कायम राख्न निर्देशन दिइसकेको जानकारी दिए।

उनले प्रभावित जिल्लाहरूमा पनि स्थानीय तहबाट सर्वदलीय संवादको अभ्यास गर्नुपर्ने आवश्यकता औँल्याउँदै सम्भावित तनाव भएका क्षेत्रमा घटना हुनुअघि नै राजनीतिक दल र प्रशासन सक्रिय हुनुपर्ने धारणा व्यक्त गरे।

सरकारको भूमिकामाथि प्रश्न

बैठकमा कांग्रेस सभापति थापाले वर्तमान परिस्थितिमा सरकारको भूमिकामाथि प्रश्नसमेत उठाए।

उनले सरकार केवल सुरक्षा संयन्त्रको बल प्रयोगमा सीमित नहुनुपर्ने उल्लेख गर्दै संकटका बेला अभिभावकीय र नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने बताए।

प्रधानमन्त्रीले तत्काल सर्वदलीय बैठक बोलाउने, राष्ट्रपतिसँग छलफल गर्ने तथा प्रदेश र स्थानीय सरकारसँग समन्वय गरेर साझा प्रयासको वातावरण सिर्जना गर्नुपर्ने उनको भनाइ थियो।

थापाले भूकम्प र कोभिड–१९ महामारीका बेला राजनीतिक मतभेदका बाबजुद सबै दल सरकारको आह्वानमा एक ठाउँमा उभिएको उदाहरण दिँदै वर्तमान परिस्थितिमा पनि त्यही अभ्यास आवश्यक रहेको बताए।

उनले सुनसरी घटनाको निष्पक्ष छानबिन हुनुपर्ने, आवश्यकताभन्दा बढी बल प्रयोग किन दोहोरिँदै आएको छ भन्ने विषयमा गम्भीर समीक्षा गर्नुपर्ने तथा राज्य सञ्चालन गर्ने निकायले यसको जिम्मेवारी लिनुपर्ने धारणा राखे।

थापाले सरकारलाई अप्ठ्यारो पार्ने उद्देश्य नभई राष्ट्रिय संकट समाधानका लागि सबै दल सहकार्य गर्न तयार रहेको स्पष्ट गर्दै प्रधानमन्त्रीले सबै पक्षलाई विश्वासमा लिएर तत्काल संवाद र सहमतिको पहल गर्नुपर्ने माग गरे।

बैठकमा सहभागी अधिकांश नेताहरूले सुनसरीको घटनालाई गम्भीर रूपमा लिएर सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र कानुनी शासन कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड दिएका थिए।