प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने विभिन्न छ राजनीतिक दलहरूले आफ्नो भागमा परेको समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत संसदको सूची निर्वाचन आयोगमा पठाउने अन्तिम तयारी गरेका छन्। प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा एमाले र श्रम संस्कृति पार्टीले समानुपातिक सांसदको सूचीलाई अन्तिम रूप दिएका छन्। तर नेपाली कांग्रेस, नेकपा र राप्रपाले समानुपातिक सूची तय गर्न यो समाचार तयार पार्दासम्म बैठक बसिरहेका छन्।

झण्डै दुई तिहाइ मत प्राप्त गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिकतर्फबाट संसद् बन्ने ५७ जनाको नामावली टुंगो लगाएको छ।

आइतबार बसेको पार्टी सचिवालय बैठकले ४८ महिला र ९ पुरुष गरी ५७ जनाको नामावली अन्तिम रूप दिएको पार्टी प्रवक्ता मनिष झाले जानकारी दिएका छन्। उनका अनुसार समानुपातिक समावेशी आधारअनुसार खसआर्य समुदायबाट १७, आदिवासी जनजातिबाट १६, मधेशी समुदायबाट ९, दलितबाट ८, थारुबाट ४ तथा मुस्लिम समुदायबाट ३ जनाको नाम टुंगो लगाइएको छ।

झाका अनुसार उक्त नामावली आइतबार नै निर्वाचन आयोगमा बुझाइने तयारी गरिएको छ। तर कस–कसको नाम समावेश भएको छ भन्ने विवरण भने हालसम्म सार्वजनिक गरिएको छैन। निर्वाचन आयोगले नामावली रुजु गरी स्वीकृत गरेपछि मात्रै सार्वजनिक गरिने उनले बताएका छन्।

यसैबीच श्रम संस्कृति पार्टीले पनि आफ्नो भागमा परेको समानुपातिकतर्फका चार जना सांसदको नाम टुंगो लगाएको छ। आइतबार धरानमा बसेको केन्द्रीय समिति बैठकले चार जनाको नाम तय गरेको पार्टी प्रवक्ता सत्य घलेले जानकारी दिए। बैठकले आदिवासी जनजाति समूहबाट सुनसरीका पूर्ण लिम्बू, मधेशी समुदायबाट धनुषाकी रुवीकुमारी ठाकुर, खसआर्य समूहबाट सुनसरीकी अम्बिकादेवी संग्रौला तथा दलित समूहबाट सुर्खेतकी राधिका रम्तेल (सार्की) को नाम चयन गरेको हो। ती नामावली पनि आइतबार नै निर्वाचन आयोगमा बुझाइने जनाइएको छ।

नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले भने शनिबार नै आफ्नो समानुपातिक सूची टुंग्याइसकेको छ।