वेलिङ्टन। वेलिङ्टन सिटी काउन्सिलका काउन्सिलर टोनी रान्डलको ६५ वर्षको उमेरमा निधन भएको छ। वेलिङ्टन सिटी काउन्सिलले सोमबार साँझ विज्ञप्ति जारी गर्दै उनको निधनको पुष्टि गरेको हो।

ताकापु/नर्दन वार्डका प्रतिनिधि रान्डल सन् २०२२ मा पहिलोपटक वेलिङ्टन सिटी काउन्सिलमा निर्वाचित भएका थिए भने गत वर्ष पुनः निर्वाचित भएका थिए। उनी हाल काउन्सिलको सीसीओ समीक्षा तथा नियुक्ति उपसमिति र ते ताकेरे नियामक प्रक्रियासम्बन्धी समितिका उपाध्यक्षका रूपमा कार्यरत थिए। उनी वेलिङ्टन क्षेत्रीय यातायात समितिका सदस्यसमेत थिए।

वेलिङ्टनका मेयर एन्ड्र्यु लिटलले रान्डलको निधनले काउन्सिल गहिरो दुःखी भएको बताएका छन्। उनले रान्डल सार्वजनिक सेवाप्रति अत्यन्त प्रतिबद्ध रहेको र वेलिङ्टन तथा यहाँका समुदायका लागि उत्कृष्ट परिणाम चाहने व्यक्ति भएको बताए।

लिटलका अनुसार रान्डलको विशेषता तथ्य, प्रमाण र विस्तृत विश्लेषणमा आधारित भएर निर्णय लिनु थियो। उनी कुनै विषयमा हतारमा निष्कर्षमा पुग्नुभन्दा त्यसको तथ्य र प्रमाण गहिराइमा अध्ययन गर्न रुचाउँथे।

रान्डल सार्वजनिक यातायातका विषयमा विशेष चासो राख्थे र स्थानीय समुदायसँग सम्बन्धित विषयमा सर्वसाधारणसँग प्रत्यक्ष छलफल गर्न सधैँ तयार रहने गरेको लिटलले बताए।

हट साउथका सांसद तथा वरिष्ठ मन्त्री क्रिस बिसपले रान्डललाई वेलिङ्टनप्रति गहिरो लगाव भएको असल व्यक्ति भन्दै श्रद्धाञ्जली व्यक्त गरेका छन्। उनले रान्डलसँग वर्षौँदेखि धेरै विषयमा अर्थपूर्ण छलफल गरेको बताएका छन्।

उत्तरी वार्डकै काउन्सिलर तथा उपमेयर बेन म्याकनल्टीले रान्डल आफ्नो जीवनमा भेटेका असल साथीमध्ये एक रहेको बताएका छन्। विचारमा धेरै विषयमा मतभेद भए पनि व्यक्तिगत सम्बन्धमा त्यसलाई कहिल्यै बाधक नबनाएको उनले स्मरण गरे।

म्याकनल्टीले रान्डल आफ्ना सन्तान र दिवंगत पत्नीप्रति अत्यन्त माया गर्ने व्यक्ति रहेको उल्लेख गर्दै उनको पारिवारिक पक्षलाई पनि सम्झिएका छन्।

स्वतन्त्र काउन्सिलरका रूपमा कार्यरत रान्डल कुनै राजनीतिक दलसँग आबद्ध थिएनन्। राजनीतिक विश्लेषक तथा मत सर्वेक्षक डेभिड फारारका अनुसार रान्डलसँग उनको चिनजान करिब ४० वर्षअघि ओटागो विश्वविद्यालयको यङ नेसनल्समा रहँदादेखि भएको थियो। फारारले रान्डललाई अत्यन्त बौद्धिक, सिद्धान्तनिष्ठ र उत्तरी वेलिङ्टनका उत्कृष्ट स्थानीय प्रतिनिधिका रूपमा स्मरण गरेका छन्।

वेलिङ्टन सिटी काउन्सिलका प्रमुख कार्यकारी म्याट प्रोसरले रान्डल आफ्नो कामप्रतिको गहिरो ध्यान र सूक्ष्म विश्लेषणका लागि परिचित रहेको बताए। स्थानीय समुदायका विषयमा उनी गम्भीर र सक्रिय रूपमा प्रस्तुत हुने गरेको पनि उनले उल्लेख गरे।

प्रोसरले रान्डलको तथ्याङ्क र विस्तृत विश्लेषणप्रतिको रुचिलाई स्मरण गर्दै उनको निधनपछि काउन्सिल र काउन्सिल बैठकमा उनको अभाव गहिरो रूपमा महसुस हुने बताएका छन्।

रान्डलको निधनपछि उनको रिक्त काउन्सिल पदका लागि आगामी दिनमा उपनिर्वाचन हुने मेयर लिटलले बताएका छन्।