काठमाडौं । पहिलो पटक फिफा विश्वकपमा सहभागी भएको केप भर्डेले ऐतिहासिक प्रदर्शन गर्दै नकआउट चरणमा स्थान सुरक्षित गरेको छ। समूह ‘एच’ मा अपराजित रहँदै केप भर्डे उपविजेताका रूपमा अन्तिम ३२ मा प्रवेश गरेको हो।

समूह चरणमा केप भर्डेले स्पेन, उरुग्वे र साउदी अरेबियासँग बराबरी खेल्दै तीन अंक जोड्यो। लगातार तीन खेलमा हार बेहोर्न नपरेपछि उसले विश्वकपको पहिलो सहभागितामै नकआउट यात्रा तय गर्न सफल भयो।

यस समूहबाट सात अंकका साथ स्पेन समूह विजेता बन्दै अर्को चरणमा प्रवेश गर्‍यो। शनिबार भएको अन्तिम खेलमा स्पेनले उरुग्वेलाई १–० गोल अन्तरले पराजित गर्दै शीर्ष स्थान कायम राख्यो। पराजयसँगै दुई पटकको विश्वविजेता उरुग्वे भने समूह चरणबाटै बाहिरिएको छ।

यस विश्वकपमा पहिलो पटक सहभागी भएका चार टोलीमध्ये केप भर्डे मात्र नकआउट चरणमा पुग्न सफल भएको छ। अन्य नवप्रवेशी टोली कुरासाओ र जोर्डन समूह चरणबाटै बाहिरिएका छन् भने उज्बेकिस्तानको सम्भावना न्यून रहेको छ।

अब अन्तिम ३२ (राउन्ड अफ ३२) मा केप भर्डेको सामना साविक विश्वविजेता अर्जेन्टिनासँग हुनेछ।