काठमाडौं । नेपाली कांग्रेसको गगन थापा–विश्वप्रकाश शर्मा समूहको अगुवाइमा सम्पन्न विशेष महाधिवेशनले गगन थापालाई पार्टी सभापति चयन गरेको छ । यद्यपि यसको औपचारिक घोषणा भने हुन बाँकी छ ।
कांग्रेसका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षरसहित पार्टी विधानअनुसार आह्वान गरिएको विशेष महाधिवेशनले थापालाई सभापति चयन गरेको हो । चार दिनसम्म चलेको महाधिवेशनले नेतृत्व परिवर्तनको एजेण्डालाई निर्णायक रूपमा अघि बढाएको छ ।
यसअघि बुधबार दिउँसो शेरबहादुर देउवा पक्षको केन्द्रीय समिति बैठकले महामन्त्रीसमेत रहेका गगन थापा, विश्वप्रकाश शर्मा र सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई कारबाही गर्ने निर्णय गरेको थियो । तर विशेष महाधिवेशनको हलले उक्त कारबाहीलाई अस्वीकार गर्दै खारेज गरेको छ ।
जेन–जी आन्दोलनपछि नेतृत्व रुपान्तरणको एजेण्डा बोकेर थापा–विश्व समूहले देउवा नेतृत्वसँग पटक–पटक महाधिवेशनको माग गर्दै आएका थिए । तर निर्वाचनअघि महाधिवेशन असम्भव हुने अडानमा देउवा समूह अडिग रहेपछि कांग्रेस विभाजनको मोडमा पुगेको थियो । सोही विभाजनको निर्णायक बिन्दुमा विशेष महाधिवेशनमार्फत थापा सभापति चयन भएका हुन् । देउवा समूहसँगको विद्रोहबाट आएका कारण थापालाई विशेष महाधिवेशनले सर्वसम्मत रूपमा सभापति चयन गरेको हो ।
आन्दोलनबाट नेतृत्वसम्म गगन थापाको यात्रा
२०४६ सालको जनआन्दोलन उत्कर्षमा पुग्दा गगन थापा मात्र १४ वर्षका थिए । कक्षा ९ मा अध्ययनरत रहँदै उनी बाल कांग्रेसका रूपमा आन्दोलनमा सहभागी भएका थिए । बहुदल स्थापनापछि सुरु भएको उनको राजनीतिक यात्रा विद्यार्थी आन्दोलन हुँदै राष्ट्रिय राजनीतिसम्म आइपुगेको हो ।
२०५७ सालमा नेपाल विद्यार्थी संघको उपसभापति निर्वाचित भएका थापा २०५९ मा महामन्त्री बने । सोही समय तत्कालीन राजा ज्ञानेन्द्र शाहले शासन सत्ता हातमा लिएपछि त्यसको विरोधमा विद्यार्थी आन्दोलनको अग्रमोर्चामा उभिने नेतामध्ये थापा अग्रपंक्तिमा थिए । गणतन्त्र र संविधानसभाको एजेण्डा पार्टीले औपचारिक रूपमा स्वीकार्नुअघि नै ती विषयलाई स्थापित गराउन थापाको भूमिका महत्वपूर्ण रह्यो । सो क्रममा उनीमाथि पटक–पटक राजद्रोहको मुद्दासमेत लगाइयो ।
सडक आन्दोलन र संसदमा प्रश्न उठाउन सहज देखिएका थापा सरकारमा गएपछि काम गरेर देखाउनुपर्ने चुनौतीसँग जुधे । २०७३ सालमा स्वास्थ्य मन्त्री बनेपछि उनले नौ महिनामा आमूल परिवर्तन गर्न नसके पनि संघीय नेपालको स्वास्थ्य संरचनाको खाका तयार गर्दै सुधारका आधारशिला राखेका थिए ।
१२औँ महाधिवेशनमा अत्यधिक मतसहित केन्द्रीय सदस्य निर्वाचित भएका थापा १३औँ महाधिवेशनमा महामन्त्री पदमा पराजित भए । तर पार्टीभित्र सुधारका आवाज निरन्तर उठाइरहे । चाहे प्रचण्ड नेतृत्वको सरकार होस् वा ओली नेतृत्वको, उनले गलत निर्णयविरुद्ध सदन र सार्वजनिक रूपमा प्रश्न उठाइरहे ।
नरहरि आचार्यलगायत नेताहरूले थालेको पार्टी सुधार अभियानमा प्रारम्भदेखि संलग्न रहेका थापाले यसपटक त्यही एजेण्डालाई केन्द्रमा राखेर विशेष महाधिवेशनको नेतृत्व गरे । थापा र महामन्त्री विश्वप्रकाश शर्माले अघि सारेका सुधारसम्बन्धी दस्तावेजहरूलाई विशेष महाधिवेशनले अनुमोदनसमेत गरेको छ ।
पार्टीको मूल नेतृत्व परिवर्तन थापा समूहको केन्द्रीय एजेण्डा थियो । चौधौँ महाधिवेशनमा त्यो एजेण्डा असफल भएपछि उनी आन्तरिक शक्ति संघर्षमा सीमित हुन पुगे । अन्ततः सुधारका माग सम्बोधन नभएपछि विद्रोहको बाटो रोजेका थापाले पार्टीभित्रै ठूलो राजनीतिक जोखिम मोले ।
राजा ज्ञानेन्द्रको शासनकालमा गणतन्त्रको माग उठाउँदा राजकाज मुद्दा खेपेका गगन थापाले कांग्रेसभित्र सुधारका एजेण्डा उठाउँदा विद्रोह र विभाजनसम्मको सामना गर्नुपरेको छ । विशेष महाधिवेशनबाट सभापति चयनसँगै उनी कांग्रेसको नेतृत्वमा नयाँ अध्याय सुरु गर्ने चुनौतीपूर्ण चरणमा प्रवेश गरेका छन् ।
