रुसले युक्रेनले रातभर गरेको ठूलो ड्रोन आक्रमणमा ८०० भन्दा बढी ड्रोन खसालेको दाबी गरेको छ। रुसी अधिकारीहरूका अनुसार आक्रमणमा कम्तीमा ६ जनाको मृत्यु भएको छ।

रुसको सरकारी समाचार संस्था तासका अनुसार यो वर्षको सुरुदेखि युक्रेनले रुसमाथि गरेको सबैभन्दा ठूलो ड्रोन हमला हो। आक्रमणमा विशेषगरी राजधानी मस्को आसपासका क्षेत्रलाई लक्षित गरिएको बताइएको छ।

मस्को क्षेत्रका गभर्नर आन्द्रे भोरोब्योभका अनुसार उक्त क्षेत्रमा मात्रै वायु रक्षा प्रणाली र विद्युतीय युद्ध इकाइले १८७ ड्रोन खसालेका वा निष्क्रिय बनाएका छन्। आक्रमणका क्रममा मस्को क्षेत्रस्थित वाइल्डबेरीजको ठूलो गोदाममा आगलागी भएको थियो।

रुसी रक्षा मन्त्रालयका अनुसार ड्रोनहरू देशका १७ क्षेत्रमा खसालिएका थिए। दक्षिणी रोस्तोभ क्षेत्रमा पाँच जनाको मृत्यु भएको र मस्को क्षेत्रमा एक ८३ वर्षीय वृद्धको ड्रोन आक्रमणमा मृत्यु भएको जनाइएको छ।

युक्रेनी सेनाले रोस्तोभ क्षेत्रमा रुसी हतियारका लागि रकेट इन्धन उत्पादन गर्ने रक्षा–औद्योगिक प्रतिष्ठानलाई समेत निशाना बनाइएको दाबी गरेको छ।

यसैबीच, रुसले युक्रेनमाथिको हवाई आक्रमण पनि जारी राखेको छ। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका अनुसार आइतबार रुसले राजधानी किभसहित विभिन्न क्षेत्रमा ड्रोन र क्षेप्यास्त्रबाट आक्रमण गरेको थियो। किभमा भएको आक्रमणमा ६ जना घाइते भएका छन्।

क्रिभी रिह र क्रेमेन्चुकमा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार भएको तथा क्रिभी रिहमा दुई र सुमीमा एक जनाको मृत्यु भएको जेलेन्स्कीले बताएका छन्।

जेलेन्स्कीका अनुसार पछिल्लो एक सातामा रुसले युक्रेनमाथि १,५५० भन्दा बढी आक्रमणकारी ड्रोन, करिब १,५६० निर्देशित हवाई बम र ६२ वटा क्षेप्यास्त्र प्रहार गरेको छ।

यसैबीच, छिमेकी मोल्डोभाबाट रोमानियाको हवाई क्षेत्रमा प्रवेश गरेको एउटा अज्ञात ड्रोनलाई आइतबार रोमानियाली हवाई क्षेत्रमा खसालिएको रोमानियाको रक्षा मन्त्रालयले जनाएको छ। रोमानियाका अनुसार यस वर्ष आफ्नो हवाई क्षेत्रमा खसालिएको यो चौथो ड्रोन हो। फोटो: एफपी