काठमाडौं – प्रतिनिधि सभा निर्वाचनको मतगणना जारी रहँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सबैभन्दा बढी निर्वाचन क्षेत्रमा अग्रस्थानमा देखिएको छ। समाचार तयार पार्दासम्म रास्वपाले ४८ निर्वाचन क्षेत्रमा अग्रता कायम राखेको छ भने एक निर्वाचन क्षेत्रमा विजयी घोषित भइसकेको छ।
काठमाडौं क्षेत्र नम्बर १ बाट रास्वपाले अग्रता कायम गर्दै आफ्नो मतखाता खोलिसकेको छ।
अन्य दलहरूको अवस्था हेर्दा नेपाली कांग्रेसले ६ क्षेत्र, नेकपा एमालेले ४ क्षेत्र, नेकपा (एकीकृत समाजवादी) ले ३ क्षेत्र, र श्रम संस्कृति पार्टीले १–१ निर्वाचन क्षेत्रमा अग्रता कायम गरेको छ।
चितवन-२ मा रास्वपाका रवि लामिछाने फराकिलो अग्रस्थानमा छन्। पछिल्लो मतगणना अनुसार उनले ३,९६३ मत पाएका छन् भने नेपाली कांग्रेसका उम्मेदवारले १,९४६ मत प्राप्त गरेका छन्।
दाङ-३ मा रास्वपाका कमल सुवेदीले सुरुआती अग्रता लिएका छन्। ५०० मत गणना हुँदा सुवेदीले २४५ मत प्राप्त गरेका छन् भने कांग्रेसका दीपक गिरि १४५ मतमा पछाडि छन्। नेकपा एमालेका घनश्याम पाण्डेले ७३ मत र नेपाली कम्युनिष्ट पार्टीका धनबहादुर मास्कीले १७ मत प्राप्त गरेका छन्।
चितवन-३ मा पनि रास्वपा अगाडि छ। रास्वपाकी उम्मेदवार सोविता गौतमले ३,६३९ मत प्राप्त गरेकी छन् भने नेपाली कम्युनिष्ट पार्टीकी रेनु दाहालले २,२६३ मत पाएकी छन्। नेकपा एमालेका शङ्कर थपलियाले ७४१ मत पाएका छन्।
झापा निर्वाचन क्षेत्र नम्बर ५ मा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहले पछि पारिरहेका छन्। पछिल्लो मत परिणाम अनुसार बालेन्द्र शाहले १,४७८ मत पाएका छन् भने ओलीले ३८४ मत प्राप्त गरेका छन्।
देशभरका मतगणना केन्द्रहरूमा गणना जारी रहँदा केही क्षेत्रको परिणाममा फेरबदल हुन सक्ने भए पनि हालको अग्रतालाई रास्वपाको प्रभावशाली प्रदर्शनको संकेतको रूपमा हेरिएको छ।
