संयुक्त अरब इमिरेट्स (युएई)का राष्ट्रपति शेख मोहम्मद बिन जायेद अल नाह्यानले राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेललाई बधाई सन्देश पठाउनुभएको छ ।
बिहीबार प्रेषित बधाई सन्देशमा राष्ट्रपति पौडेल, नेपाल सरकार तथा सम्पूर्ण नेपाली जनताप्रति हार्दिक शुभकामना व्यक्त गरिएको यहाँस्थित युएईको राजदूतावासले जनाएको छ । सन्देशमा दुई देशबीचको मैत्रीपूर्ण सम्बन्ध थप सुदृढ हुने विश्वाससमेत व्यक्त गरिएको छ ।
यसैगरी, युएईका उपराष्ट्रपति, प्रधानमन्त्री तथा दुबईका शासक शेख मोहम्मद बिन राशिद अल मक्तूम र उपराष्ट्रपति, उपप्रधानमन्त्री एवं राष्ट्रपति मामिलामन्त्री शेख मन्सुर बिन जायेद अल नाह्यानले पनि राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा राष्ट्रपति पौडेललाई छुट्टाछुट्टै शुभकामना सन्देश पठाउनुभएको छ । उनीहरूले नेपाल र युएईबीचको सहयोग तथा मित्रता आगामी दिनमा अझ प्रगाढ हुने विश्वास व्यक्त गरेका छन् ।
