काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल जापानको चारदिने औपचारिक भ्रमणका लागि आइतबार राति जापान प्रस्थान गर्नुभएको छ । उहाँ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै जापानको नारिता अन्तर्राष्ट्रिय विमानस्थल पुग्नुभएको हो ।

राष्ट्रपति पौडेललाई प्रस्थानका क्रममा प्रधानमन्त्रीसहित उच्चपदस्थ सरकारी अधिकारीहरूले बिदाइ गर्नुभएको थियो । नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा जापानको विदेश मन्त्रालयका प्रमुख शिष्टाचार महापाल, नेपालका लागि जापानका राजदूत तोरु मायदा तथा जापानका लागि नेपालका कार्यवाहक राजदूत हरिहरकान्त पौडेललगायतले स्वागत गर्नुभएको थियो ।

जापान सरकारको निमन्त्रणामा राष्ट्रपति पौडेल प्रथम महिला सविता पौडेलसहित नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपाल–जापान कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औँ वर्षगाँठका अवसरमा जापानमा आयोजना हुने विशेष समारोहमा सहभागी हुन जानुभएको हो ।

भ्रमणका क्रममा राष्ट्रपति पौडेलले माघ १९ गते जापान सरकारले आयोजना गर्ने नेपाल–जापान कूटनीतिक सम्बन्धको ७० औँ वार्षिकोत्सव विशेष स्वागत समारोहमा सहभागी हुनुहुनेछ । माघ २० गते टोकियोस्थित इम्पेरियल प्यालेसमा जापानका सम्राट् नारुहितोसँग राजकीय शिष्टाचार भेट र जापानका प्रधानमन्त्री सुश्री ताकाइची सानाएसँग भेटवार्ता हुने कार्यक्रम रहेको छ ।

यसैबीच, भ्रमणका क्रममा जापानका विदेश राज्यमन्त्री होरिइ इवाओसँग शिष्टाचार भेटवार्ता, जापानी व्यावसायिक समुदायसँग अन्तरक्रिया तथा जापानस्थित नेपाली राजदूतावासले आयोजना गर्ने स्वागत समारोहमा राष्ट्रपति पौडेल सहभागी हुनुहुनेछ ।

नेपाल र जापानबीच सन् १ सेप्टेम्बर १९५६ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । त्यसपछि नेपालले सन् १९६५ मा टोकियोमा र जापानले सन् १९६७ मा काठमाडौंमा दूतावास स्थापना गरेका थिए । राष्ट्रपति पौडेल चारदिने औपचारिक भ्रमण सम्पन्न गरी माघ २१ गते बुधबार स्वदेश फर्कने कार्यक्रम रहेको छ ।