राजनीतिक दलहरूमार्फत निर्वाचनको सन्देश स्थानीय तहसम्म पुर्याउनु पर्छ: मन्त्री सिन्हा
काठमाडौँ — कानून, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले राजनीतिक दलहरूले आफ्नो सञ्जालको प्रयोगमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुराउनु पर्ने बताएका छन्। यसका लागि सरकारी तवरबाट प्रभावकारी प्रयास भई रहेको जानकारी उनले मंगलवार नेपाली कम्युनिष्ट पार्टीको केन्द्रीय कार्यालय अनुगमनका क्रममा सञ्चारकर्मीहरूसँग दिएका छन्।
उनले राजनीतिक दलहरूसँग प्रत्यक्ष संवाद गर्दै उनीहरूको जिज्ञासा संकलन गरी सरकारसम्म लैजाने जानकारी गराउँदै भने, “प्रत्येक दलको सम्पर्क स्थानीय तहसम्म पुगेको हुँदा, दलहरूले एकपटक निर्वाचनका बारेमा बोलिदिए भने त्यो सन्देश तल्लो तहसम्म पनि पुग्छ। यसरी दलहरूको माध्यमबाट चुनावी वातावरण अझ सुदृढ बन्न सक्छ।”
उनले जेन–जी युवा पुस्तासँगको संवादमार्फत विभिन्न मागहरू आउनु स्वाभाविक रहेको र सरकार यसलाई सम्बोधन गर्दै निर्वाचनको अनुकूल वातावरण निर्माणमा सक्रिय रहेको पनि बताए।
सिन्हाले थपे, “हामी मुख्य राजनीतिक दलहरूको कार्यालयमै गएर छलफल गर्ने र उनीहरूको जिज्ञासा भए ति सरकारसम्म पुर्याउने जिम्मेवारी लिएर अघि बढिरहेका छौं। भदौ २३ र २४ को दुभाग्यपूर्ण घटनामा धेरै आयाम थिए। जेन–जी समूहहरूसँगको संवादमा विभिन्न माग आउनु स्वाभाविक हो, तर हामी यी सबैलाई समेट्दै निर्वाचनको तयारीमा लागिपरेका छौं।”
