कञ्चनपुर — बिहान हुन्छ, साँझ पर्छ । समय बग्छ, तर कमलादेवी नायकको घरको घडी दुई वर्षदेखि अड्किएको छ । त्यो घडी मंसिर १०, २०८० मा रोकियो—जुन दिन उनले छोरासँग अन्तिम पटक आवाज सुनेकी थिइन् । त्यसपछि घरमा आवाज छैन, केवल प्रतीक्षा छ ।

रुँदा–रुँदा उनका आँसु सुकिसके । अब उनी धेरै रुन्न पनि सक्दिनन् । भक्कानिन्छिन्, आँगनको डिलमा बसेर क्षितिजतिर टोलाउँछिन् । कतैबाट छोरा फर्किएर आउँछ कि भन्ने आशाले उनको नजर आकाश, बाटो र मोबाइल फोनबीच घुमिरहन्छ । तर मोबाइल मौन छ ।

भीमदत्त नगरपालिका–९, ब्रह्मदेवका २३ वर्षीय दिनेश अध्ययनको सपना बोकेर २०८० असारमा रुस पुगेका थिए । छोराले विदेश गएर पढ्छ, जीवन बनाउँछ भन्ने भरोसामा कमलादेवीले ऋण खोजेर पठाइन् । ‘पढ्न जान्छु आमा’ भन्ने छोरो युद्धमा हराउनेछ भन्ने कल्पनासमेत उनले गरेकी थिइनन् ।

रुस पुगेको दुई महिनापछि दिनेशले फोन गरेर रसियन सेनामा भर्ती भएको खबर सुनाए । त्यो फोनले आमाको मुटु चिराचिरा भयो । ‘सेनामा नजा बाबु, घर फर्केर आऊ,’ उनले कातर स्वरमा आग्रह गरिन् । तर छोरो मानेन । तालिमका दिनमा भने उसले आमालाई बिर्सेन । बेला–बेला फोन गरेर ‘ठिक छु आमा’ भन्थ्यो । त्यो दुई शब्दले कमलादेवी बाँचिरहेकी थिइन् ।

तालिम सकेर युद्ध क्षेत्रमा पुगेपछि पनि दिनेश सात–दश दिनमा फोन गर्थ्यो । युद्धको बीचबाट आउने त्यो आवाज आमाका लागि जीवन र मृत्युको सीमारेखा थियो । २०८० मंसिर १० गते अन्तिम पटक फोन आयो । ‘आमा, १५ दिनका लागि युद्धमा जाँदैछु । फर्किएपछि फोन गर्छु,’ छोरोले भन्यो । कमलादेवीले केही बोल्नै सकिनन् । केवल आँसु बगाइन् । त्यो १५ दिन आज दुई वर्षभन्दा लामो भइसकेको छ ।

‘युद्धबाट फर्किएपछि एक महिनाको बिदामा घर आउँछु भनेको थियो,’ उनी भक्कानिन्छिन्, ‘आजसम्म फोन आएन । बाँच्यो कि म¥यो, केही थाहा छैन ।’ कहिलेकाहीँ छोरोले ह्वाट्सएपमा पठाएका पुराना तस्बिरहरू खोल्छिन् । स्क्रिनमा औंला चलाउँछिन्, तस्बिर सुमसुम्याउँछिन्—मानौँ छोरोको निधार छोइरहेकी हुन् । अनि एक्लै रुन्छिन् ।

बुवा कर्णसिंह नायक पनि भित्रभित्रै जलेका छन् । ‘पढाइ भनेर पठाएको छोरो युद्धमा फस्यो,’ उनी भन्छन्, ‘एकातिर छोराको पीडा, अर्कोतिर ऋणको चाप ।’ दिनेशले रुस पुगेपछि एक महिना काम गरेर घरमा ५० हजार रुपैयाँ पठाएको सम्झिँदा उनी भावुक हुन्छन् । ‘त्यो पैसा होइन, छोराको पसिना थियो,’ उनी भन्छन् ।

दिनेशका मामाका छोरा रोहन पनि उनीसँगै रुस गएका थिए । रोहन नौ महिनामै सेनाबाट भागेर घर फर्किए । तर दिनेश फर्किएन । ‘रोहन घर आयो, मेरो छोरो कहाँ गयो?’ कर्णसिंहको प्रश्न आज पनि अनुत्तरित छ ।

परिवारले नेता, मन्त्री, प्रशासन—जहाँ–जहाँ सम्भव भयो, हारगुहार गर्‍यो । परराष्ट्र मन्त्रालयमा निवेदन दिए । मन्त्रालयले मस्कोस्थित नेपाली दूतावासलाई पत्र लेख्यो । तर कागज चले, उत्तर आएन । आश्वासन पाइयो, खबर पाइएन ।

कमलादेवी अझै बिहान उठ्दा ढोकातिर हेर्छिन् । कहिलेकाहीँ सपना देख्छिन्—छोरो हाँस्दै घर पसेको । सपना टुटेपछि उनी फेरि टोलाउँछिन् । उनको प्रतीक्षा केवल छोराको होइन, एउटा उत्तरको हो—जिउँदो छ कि छैन भन्ने ।

युद्धले दिनेशलाई कहाँ लग्यो, थाहा छैन । तर त्यो युद्धले कञ्चनपुरको एउटा घरबाट हाँसो खोसेको छ, आमाको काख रित्तो बनाएको छ, र एउटा परिवारलाई अनन्त प्रतीक्षामा बाँधेको छ ।