भेनेजुएलामा गएको दुई शक्तिशाली भूकम्पपछि मानवीय संकट थप गहिरिएको छ। संयुक्त राष्ट्रसंघीय निकायहरूले भूकम्पका कारण दशौँ हजार मानिस पर्याप्त आश्रयविहीन भएको पुष्टि गर्दै राहत तथा उद्धार कार्यलाई तीव्र बनाएका छन्।
संयुक्त राष्ट्रसंघीय शरणार्थी उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) ले जारी गरेको विज्ञप्तिअनुसार भूकम्पपछि मृतकको संख्या निरन्तर बढिरहेको छ। हालसम्म करिब दुई हजार जनाको मृत्यु भएको पुष्टि भएको छ भने ६ हजार ४०० भन्दा बढी मानिसलाई जीवितै उद्धार गरिएको अधिकारीहरूले जनाएका छन्।
यूएनएचसीआरका अनुसार संयुक्त राष्ट्रसंघका विभिन्न निकायहरूले प्रभावित क्षेत्रमा राहत, उद्धार तथा पुनःस्थापनाको कामलाई निरन्तरता दिएका छन्। संयुक्त राष्ट्रसंघीय बाल कोष (युनिसेफ) ले तीन महिनासम्म एक लाख प्रभावित व्यक्तिलाई पुग्ने राहत सामग्री उपलब्ध गराएको छ भने यूएनएचसीआरले विस्थापित परिवारका लागि अस्थायी आश्रयको व्यवस्था गरिरहेको छ।
मानवीय मामिला समन्वयका लागि संयुक्त राष्ट्रसंघीय कार्यालय (ओसिएचए) ले अन्तर्राष्ट्रिय खोज तथा उद्धार टोलीहरूसँग समन्वय गर्दै प्रभावित क्षेत्रमा उद्धार अभियान सञ्चालन गरिरहेको जनाएको छ। साथै, संयुक्त राष्ट्रसंघीय विपद् मूल्याङ्कन तथा समन्वय टोली (युएनडिएसी) ले सबैभन्दा बढी प्रभावित समुदायमा पुगेर तत्काल आवश्यक राहत र सहयोगको मूल्याङ्कन गरिरहेको छ।
संयुक्त राष्ट्रसंघका अनुसार भूकम्पले स्वास्थ्य, शिक्षा तथा खानेपानी पूर्वाधारमा व्यापक क्षति पुर्याएको छ। अस्पताल, ४०० भन्दा बढी विद्यालय तथा खानेपानी वितरण प्रणालीसहित एक हजारभन्दा बढी भवन पूर्ण रूपमा ध्वस्त वा गम्भीर रूपमा क्षतिग्रस्त भएका छन्। संयुक्त राष्ट्रसंघले अन्तर्राष्ट्रिय समुदायलाई प्रभावित क्षेत्रका नागरिकका लागि तत्काल मानवीय सहायता बढाउन आह्वान गरेको छ।
