वासिङ्टन । बालबालिकाको गोपनीयता उल्लंघन गरेको आरोपमा अमेरिकामा परेको मुद्दा टुंग्याउन सामाजिक सञ्जाल प्लेटफर्म टिकटकले अमेरिकी सरकारलाई ४० करोड अमेरिकी डलर (करिब २९ करोड ३० लाख पाउन्ड) तिर्न सहमति जनाएको छ। बालबालिकाको अनलाइन गोपनीयतासम्बन्धी मुद्दामा भएको यो अहिलेसम्मकै ठूलोमध्ये एक जरिवाना सम्झौता हो।
यो सम्झौता सन् २०२४ मा तत्कालीन राष्ट्रपति जो बाइडेनको प्रशासनअन्तर्गत अमेरिकी न्याय विभागले दायर गरेको मुद्दासँग सम्बन्धित छ। मुद्दामा टिकटक र यसको मूल कम्पनी बाइटडान्सले १३ वर्षभन्दा कम उमेरका लाखौँ बालबालिकासहितका प्रयोगकर्ताबाट ‘ठूलो मात्रामा व्यक्तिगत डेटा’ संकलन गरेको आरोप लगाइएको थियो।
अमेरिकी संघीय कानुन Children’s Online Privacy Protection Act (COPPA) ले १३ वर्षभन्दा कम उमेरका बालबालिकाको व्यक्तिगत जानकारी संकलन तथा प्रयोगमा कडा नियम तोकेको छ। सन् २००० मा लागू भएको यो कानुन उल्लंघन गरेको आरोपमा टिकटकविरुद्ध मुद्दा परेको हो।
अमेरिकी न्याय विभागका सहायक महान्यायाधिवक्ता ब्रेट शुमाटेले सम्झौतापछि बालबालिका र अभिभावकको सुरक्षा मुद्दा सुरु हुँदाको अवस्थाभन्दा अहिले राम्रो भएको बताएका छन्।
यसअघि पनि COPPA उल्लंघन गरेको आरोपमा विभिन्न प्रविधि कम्पनीले अमेरिकी सरकारलाई ठूलो रकम जरिवाना तिरिसकेका छन्। गुगलको स्वामित्वमा रहेको युट्युबले सन् २०१९ मा १७ करोड डलर र एपिक गेम्सले सन् २०२२ मा २७ करोड ५० लाख डलर तिरेका थिए।
यता, बालबालिकालाई लक्षित गरी आफ्ना प्लेटफर्ममार्फत मुनाफा कमाएको आरोपमा मेटाविरुद्ध पनि अमेरिकाका २९ राज्यका महान्यायाधिवक्ताले मुद्दा दायर गरेका छन्। उक्त मुद्दामा मेटाले बाल प्रयोगकर्तालाई लक्षित गरेको र उनीहरूको व्यक्तिगत जानकारीबाट आर्थिक लाभ लिएको आरोप लगाइएको छ। मुद्दामा क्षतिपूर्ति तथा जरिवाना रकम सयौँ अर्ब डलरसम्म पुग्न सक्ने दाबी गरिएको छ। त्यससम्बन्धी मुद्दामा यसै साता जुरी सुनुवाइ सुरु भएको छ।
टिकटकसम्बन्धी अमेरिकी मुद्दा गत वर्ष टिकटकको अमेरिकी व्यवसाय तथा सञ्चालनलाई चीनस्थित मूल संरचनाबाट अलग गर्ने प्रक्रियाभन्दा अघिदेखिकै हो। पछिल्लो सम्झौता भने बाइटडान्सको चीनसँग सम्बन्धित टिकटक सञ्चालनसँग जोडिएको बताइएको छ।
निजी स्वामित्वमा रहेको बाइटडान्सको मूल्यलाई पछिल्लो समय लगानीकर्ताले करिब ५५० अर्ब अमेरिकी डलर आँकलन गरेका छन्।
बालबालिकाको व्यक्तिगत सूचना तथा अनलाइन गतिविधिको सुरक्षालाई लिएर अमेरिकामा सामाजिक सञ्जाल तथा प्रविधि कम्पनीमाथि नियामकीय निगरानी र कानुनी कारबाही पछिल्ला वर्षहरूमा तीव्र बन्दै गएको छ। टिकटकमाथिको पछिल्लो सम्झौताले पनि बालबालिकाको डेटा संरक्षणसम्बन्धी कानुन उल्लंघनमा अमेरिकी सरकारको कडा नीति कायम रहेको संकेत गरेको छ। समाचार : बीबीसीबाट
