पोखरा महानगरपालिकाले फालिएका वस्तुहरूको पुनः प्रयोग (रिसाइकल तथा अपसाइकल) मार्फत दिगो विकासलाई प्रोत्साहन गर्ने उद्देश्यसहित सवा २ अर्ब रुपैयाँको लगानीमा अत्याधुनिक केन्द्र निर्माण गरिरहेको छ । नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा निर्माणाधीन यस परियोजनाले प्रत्यक्ष रूपमा झन्डै ३ हजार व्यक्तिलाई रोजगारीसँग जोड्ने लक्ष्य राखेको छ ।
महानगर प्रमुख धनराज आचार्यका अनुसार उक्त केन्द्र ‘घोप्ट्याइएको ढुङ्गा’ को शैलीमा डिजाइन गरिएको छ, जसले पोखराको भौगोलिक पहिचान झल्काउनेछ। यस्तो मौलिक वास्तुकला नेपालमै दुर्लभ रहेको दाबी गरिएको छ। यो संरचना केवल भवनमा सीमित नरही फालिएका वस्तुहरूबाट नयाँ सामग्री उत्पादन गर्ने र चक्रीय आर्थिक प्रणालीबारे अध्ययन गरिने ‘सिकाइ केन्द्र’ का रूपमा विकास गरिनेछ ।
दक्षिण कोरियाली सरकारको करिब २ अर्ब २५ करोड रुपैयाँ आर्थिक सहयोगमा सञ्चालन भइरहेको यस आयोजनामा संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) र कोइकाको साझेदारी रहेको छ । कार्यान्वयनका लागि शिवालय चोकमा कार्यालय स्थापना गरी स्थानीय साझेदारहरूसँग समन्वय गर्दै काम अघि बढाइएको छ ।
परियोजनालाई प्रभावकारी बनाउन महानगरका ३३ वटै वडामा १००–१०० जनासम्म सहभागी हुने सामुदायिक समूह गठन गरिएको छ । ती समूहलाई आवश्यक प्राविधिक उपकरण तथा सामग्री आयोजनाले नै उपलब्ध गराइरहेको छ। यस पहलले फोहोर व्यवस्थापनसँगै स्थानीय स्तरमा रोजगारी सिर्जनामा उल्लेखनीय योगदान पुर्याउने अपेक्षा गरिएको छ ।
‘कोसेली घर’ नाम दिइएको यो संरचना १ वर्ष ६ महिनाभित्र सम्पन्न गर्ने लक्ष्यसहित निर्माण भइरहेको हो । परियोजनाले नकुहिने फोहोर प्रशोधन गर्दै त्यसबाट उपयोगी र आकर्षक सामग्री उत्पादन गर्नेछ । साथै, यसलाई सिकाइ केन्द्रका रूपमा विकास गरी पोखराको नयाँ पर्यटकीय गन्तव्य बनाउने योजना छ ।
‘ग्रिन भेन्चर जोन’ अन्तर्गत निर्माण भइरहेको यस केन्द्रले फोहोर व्यवस्थापनलाई आयआर्जन र पर्यटनसँग जोड्ने लक्ष्य राखेको छ । परियोजनाका फोकल पर्सन इन्जिनियर नेत्र तिमिल्सिनाका अनुसार यहाँ फोहोर संकलनभन्दा त्यसलाई मूल्यवान सामग्रीमा रूपान्तरण गर्ने सीप र प्रविधिको प्रदर्शन तथा तालिम प्रदान गरिनेछ ।
परियोजनाले १ सय ३६ वटा समुदायलाई छनोट गरी स्थानीय बासिन्दालाई फोहोरबाट उपयोगी तथा आकर्षक सामग्री बनाउने तालिम दिइरहेको छ । उत्पादन गरिएका सामग्रीहरू यही केन्द्रमा प्रदर्शनी तथा बिक्रीका लागि राखिनेछ, जसले स्थानीयको आयआर्जनमा टेवा पुर्याउनेछ ।
इन्जिनियर तिमिल्सिनाका अनुसार परियोजनाले ‘रिसाइकल’ भन्दा ‘अपसाइकल’ लाई प्राथमिकता दिएको छ । प्रयोगविहीन कपडा वा पुराना फर्निचरलाई रूपान्तरण गरी नयाँ र आकर्षक सामग्री बनाइनेछ, जसले आर्थिक मूल्य अभिवृद्धि गर्नेछ ।
यस केन्द्रले विद्यार्थी तथा स्थानीय तहका प्रतिनिधिहरूका लागि फोहोर वर्गीकरण र व्यवस्थापनसम्बन्धी अध्ययन स्थलको रूपमा पनि काम गर्नेछ । महानगरले यसलाई केवल फोहोर व्यवस्थापनमा सीमित नराखी एक प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य राखेको छ ।
फेवाताल, सराङकोट र पुम्दीकोटजस्ता प्रमुख स्थल भ्रमण गर्न आउने पर्यटकका लागि ‘ग्रिन भेन्चर जोन’ आकर्षणको नयाँ केन्द्र बन्ने अपेक्षा गरिएको छ । फोहोरबाट निर्मित कलात्मक सामग्रीहरूको अवलोकन र खरिद गर्न सकिने भएकाले यसले पोखराको पर्यटन क्षेत्रमा नयाँ आयाम थप्ने विश्वास लिइएको छ ।
