निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिकतर्फका मतपत्र छपाइको काम औपचारिक रूपमा सुरु गरेको छ। आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीका अनुसार सबै आवश्यक तयारी पूरा भएपछि मतपत्र छपाइ तीव्र गतिमा अघि बढाइएको हो।

भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा नेपाली सेनाको उच्च सुरक्षाबीच मतपत्र छपाइ भइरहेको सेनाका सूचना अधिकारी राजाराम बस्नेतले जानकारी दिए। उनका अनुसार चौबीसै घण्टा सुरक्षा व्यवस्था मिलाएर मतपत्र छपाइ, प्याकिङ र भण्डारणको काम भइरहेको छ।

मतपत्र छपाइ सुरु हुनुअघि बुधबार र बिहीबार ५–५ लाखका दरले समानुपातिक र प्रत्यक्ष निर्वाचन प्रणालीका लागि नमुना मतपत्र छापिएका थिए। ती नमुना मतपत्र जिल्ला–जिल्लामा मतदाता शिक्षाका लागि पठाइने छन्।

४ करोडभन्दा बढी मतपत्र छपाइ हुने

निर्वाचन आयोगले झण्डै ४ करोडभन्दा बढी मतपत्र छाप्ने तयारी गरेको छ। आयोगका अनुसार समानुपातिक र प्रत्यक्ष निर्वाचन प्रणालीका लागि छुट्टाछुट्टै २ करोड ८ लाख ५० हजारका दरले मतपत्र छापिने छन्। हालसम्म आयोगले १ करोड ८९ लाखभन्दा बढी मतदाताको नामावली प्रकाशित गरिसकेको छ भने आकस्मिक अवस्थाका लागि ५–७ प्रतिशत बढी मतपत्र छापिनेछ।

समानुपातिकतर्फ सेतो कागजमा कालो रंगको छपाइ गरिनेछ भने प्रत्यक्षतर्फ सेतो कागजमा रातो रंगको प्रयोग हुनेछ। आयोगका अनुसार सेतो पृष्ठभूमिमा कालो र रातो रंग स्पष्ट देखिने भएकाले चिह्न चिन्ने, स्वस्तिक छाप लगाउने र मतगणनाका बेला सजिलो हुने उद्देश्यले यी रंग प्रयोग गरिएको हो। आउँदो निर्वाचनका लागि दुईथरिका मतपत्र हुनेछन् — समानुपातिक र प्रत्यक्ष प्रणालीका लागि अलग–अलग। समानुपातिकतर्फ देशभर एउटै डिजाइनको मतपत्र हुनेछ भने प्रत्यक्षतर्फ निर्वाचन क्षेत्रअनुसार फरक–फरक डिजाइनमा उम्मेदवारका चुनाव चिह्नसहित मतपत्र छापिनेछ।

समानुपातिकतर्फ ५८ वटा चुनाव चिह्न रहनेछन्। ६४ दलले बन्दसूची बुझाएका मध्ये ५४ दलले छुट्टाछुट्टै चिह्न प्रयोग गरेका छन् भने १० दलले ४ वटा चिह्न साझा गरेका छन्। आयोगका अनुसार फागुन १० गतेभित्र देशभर मतपत्र पठाइसक्ने लक्ष्य छ। मतपत्र सिधै निर्वाचन अधिकृतको कार्यालयमा पठाइनेछ भने अन्य निर्वाचन सामग्री जिल्ला निर्वाचन कार्यालयमार्फत वितरण गरिनेछ।

निर्वाचनलाई निष्पक्ष, सुरक्षित र विश्वसनीय बनाउन आयोगले मतपत्र छपाइदेखि ढुवानीसम्म उच्च सतर्कता अपनाएको जनाएको छ।