राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीभित्र पद मिलान र संगठनात्मक समायोजनका लागि चार वटा पदाधिकारीको पद थप गर्ने निर्णय गरेको छ। आइतबार पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय समिति बैठकले उपसभापति, महामन्त्री, सहमहामन्त्री र सहप्रवक्ता एक–एक पद थप गर्ने निर्णय गरेको हो।

पार्टी प्रवक्ता मनिष झाले उज्यालो नेपाल पार्टी तथा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहसँग भएको एकतापश्चात पदीय समायोजन आवश्यक भएकाले पदाधिकारी संख्या बढाउने निर्णय गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार संगठन विस्तार र विभिन्न राजनीतिक धारालाई एउटै संरचनामा समेट्ने उद्देश्यले यो निर्णय लिइएको हो।

बैठकले विवेकशील पार्टीसँगको एकीकरणपछि आएका नेतामध्ये सात जनालाई केन्द्रीय समितिमा मनोनयन गर्ने निर्णय पनि गरेको छ। मनोनित सदस्यहरूमा समीक्षा बाँस्कोटा, प्रकाशचन्द्र परियार, सुरज प्रधान, नवराज थापा, आशुतोष प्रधान, धनेज थापा र रञ्जु दर्शना रहनुभएको छ।

प्रवक्ता झाले विवेकशील पार्टीका नेतृत्व तहमा रहेकाहरूलाई केन्द्रीय समितिमा समेटेर पार्टी एकीकरणलाई संस्थागत गर्ने प्रयास गरिएको बताउनुभयो। साथै, पार्टी समायोजनको बाँकी प्रक्रिया र प्रत्यक्ष निर्वाचनको तयारीलाई तीव्र बनाउन उपसभापति डा. स्वर्णिम वाग्लेको नेतृत्वमा प्रत्यक्ष निर्वाचन तयारी कार्यदल गठन गर्ने निर्णय गरिएको जानकारी दिनुभयो।

त्यसैगरी, पार्टी समायोजन प्रक्रियाका थप काम अघि बढाउन महामन्त्रीको नेतृत्वमा दुई वटा कार्यदल गठन गर्ने निर्णय पनि बैठकले गरेको छ। पार्टीमा थप राजनीतिक दल तथा समूहहरू आवद्ध हुने सम्भावनालाई ध्यानमा राख्दै संगठन संरचना लचिलो र समावेशी बनाउने लक्ष्य राखिएको प्रवक्ता झाले बताउनुभयो।

रास्वपाले पछिल्लो समय पार्टी एकता, संगठन सुदृढीकरण र आगामी निर्वाचनको तयारीलाई प्राथमिकतामा राख्दै निर्णयहरू गर्दै आएको जनाएको छ।

फोटो  – न्युज एजेन्सी नेपाल