आगामी ७ नोभेम्बर, शनिबार न्युजील्याण्डमा आम निर्वाचन हुने भएको छ। यो निर्वाचन ५४औँ संसद गठनका लागि हुने भएको हो। प्रधानमन्त्री क्रिस्टोफर लक्सनले आज औपचारिक रूपमा निर्वाचन मिति घोषणा गरेका छन्।

प्रधानमन्त्री लक्सनले आफ्नो पार्टी नेसनलको यस वर्षको पहिलो संसदीय दलको बैठकको अन्तिम दिन, क्राइस्टचर्चमा सम्पन्न पार्टी ककस रिट्रिटमा निर्वाचन मिति सार्वजनिक गरेका हुन्। कार्यक्रममा लक्सनले भने, “हाम्रा अधिकांश निर्वाचनहरू अक्टोबरको अन्त्य वा नोभेम्बरको सुरुवातमा हुँदै आएका छन्। अन्तर्राष्ट्रिय कार्यक्रम, राष्ट्रिय गतिविधि र खेलकुद तालिका हेर्दा यो समय उपयुक्त देखियो।”

आगामी निर्वाचनमा १२० सिटका लागि सांसद चयन गरिनेछ। एमएमपी प्रणाली अनुसार मतदाताले पार्टी र उम्मेदवार दुवैमा मतदान गर्नेछन्।

निर्वाचन मिति घोषणा पछि लक्सनले सरकार नियमित कामकाजमा केन्द्रित रहने र राजनीतिक दलहरू चुनावी तयारीमा लाग्ने बताए। उनले गठबन्धन सरकार गठनको तयारीबारे चिन्तित नभएको र नेसनल पार्टी नेतृत्वको सरकारका लागि बलियो आधार प्रस्तुत गर्ने विश्वास व्यक्त गरे।

प्रधानमन्त्री लक्सनले सन् २०२६ को निर्वाचनपछि ग्रीन पार्टी वा ते पाटी माओरीसँग सहकार्य नगर्ने स्पष्ट पारे। तर उनले थपे, “हामीले एक्ट र न्युजील्याण्ड फर्स्टसँग सफलतापूर्वक काम गर्ने क्षमता देखाइसकेका छौं र आवश्यक परे सहकार्य गर्न तयार छौं।”

ककस रिट्रिटहरू राजनीतिक वर्षको औपचारिक सुरुवात मानिने कार्यक्रमको हिस्सा हुन्, जहाँ सांसदहरूले नयाँ कार्यतालिका र चुनावी रणनीतिबारे छलफल गर्छन्।