न्युजिल्याण्ड सरकारले आफ्नो आधिकारिक सरकारी लोगो तथा पहिचान प्रणालीमा परिवर्तन गर्दै अंग्रेजी भाषालाई ते रेओ माओरीभन्दा बढी प्राथमिकता दिने निर्णय गरेको छ । नयाँ सार्वजनिक सेवा मन्त्री पल गोल्डस्मिथको निर्देशनपछि सरकारले यस्तो परिवर्तन अघि बढाएको हो ।

सार्वजनिक सेवा आयोगले यस साता सबै मन्त्रालय र सरकारी विभागलाई नयाँ लोगो पठाउँदै आगामी जुन महिनाको अन्त्यसम्म आफ्नो वेबसाइट अद्यावधिक गर्न निर्देशन दिएको छ । यो कदम सरकारको “अंग्रेजी–पहिला” नीतिअनुसार लागू गरिएको जनाइएको छ ।

नयाँ लोगोमा “न्युजिल्याण्ड सरकार” भन्ने अंग्रेजी शब्दलाई ठूला अक्षरमा माथि राखिएको छ भने “ते कावानाताङ्गा ओ आओटेरोआ” लाई त्यसको तल राखिएको छ । यसअघि भने माओरी भाषाको नामलाई प्राथमिकता दिइएको थियो ।

मन्त्री पल गोल्डस्मिथले यो निर्णय सत्तारुढ गठबन्धनको प्रतिबद्धता कार्यान्वयन गरिएको भन्दै “यो काम पहिले नै हुनुपर्ने थियो, अब हामीले लागू गरेका छौँ” प्रतिक्रिया दिनुभयो ।

उहाँले अधिकांश न्युजिल्याण्डवासीको मुख्य भाषा अंग्रेजी भएकाले सरकारी पहिचानमा अंग्रेजीलाई प्राथमिकता दिनु स्वाभाविक रहेको बताउनुभयो । साथै सरकारले ते रेओ माओरी भाषाको विकासमा भने प्रतिबद्धता कायमै रहेको दाबी गर्नुभयो ।

सार्वजनिक सेवा आयोगका प्रवक्ताका अनुसार लोगोको क्रम परिवर्तन मन्त्रीस्तरीय निर्णयअनुसार गरिएको हो । सरकारी निकायहरूले भने दुवै भाषा प्रयोग गर्न जारी राख्ने जनाइएको छ ।

लागत कम गर्न सुरुवातमा डिजिटल माध्यमबाट मात्रै परिवर्तन गरिने र क्रमशः भौतिक सामग्रीमा पनि लागू गरिने आयोगले जनाएको छ । आयोगले आफ्नो लोगोसमेत परिवर्तन गरिसकेको छ ।

अंग्रेजी–पहिला नीति सन् २०२३ मा नेशनल पार्टी र न्युजिल्याण्ड फर्स्टबीच भएको गठबन्धन सम्झौतामार्फत अघि बढाइएको थियो । उक्त सम्झौताअनुसार माओरीसम्बन्धी निकायबाहेक अन्य सबै सरकारी विभागको मुख्य नाम अंग्रेजीमा हुनुपर्ने उल्लेख गरिएको थियो ।

यस विषयमा सत्तारुढ दलभित्र पनि दबाब बढ्दै गएको थियो । न्युजिल्याण्ड फर्स्टका नेता विन्स्टन पिटर्सले सार्वजनिक सेवा निकायलाई छिट्टै जवाफदेही बनाइने चेतावनी दिएका थिए भने एक्ट पार्टीका सांसद टोड स्टेफेन्सनले सरकारी निकायमा अंग्रेजी–पहिला नीति प्रभावकारी रूपमा लागू नभएको भन्दै असन्तुष्टि जनाएका थिए ।

स्टेफेन्सनले आयोगले आफ्नो सुझावलाई ध्यान दिँदै लोगो परिवर्तन गरेकोमा खुशी व्यक्त गर्नुभयो । उहाँले अनावश्यक खर्च नगरी डिजिटल माध्यमबाट सहज रूपमा परिवर्तन सम्भव भएको उल्लेख गर्नुभयो ।

तर विपक्षी दलहरूले भने सरकारको यो निर्णयको आलोचना गरेका छन् । हरित पार्टीका प्रवक्ता फ्रान्सिस्को हर्नान्डेजले यो कदमलाई “अनावश्यक ध्यान भड्काउने प्रयास” भन्दै सरकार वास्तविक समस्याबाट टाढिएको आरोप लगाउनुभयो । उहाँले सरकारले जीवनयापनको बढ्दो लागत र इन्धन संकटभन्दा लोगो परिवर्तनलाई प्राथमिकता दिएको टिप्पणी गर्नुभयो ।

लेबर पार्टीका नेता क्रिस हिप्किन्सले पनि लोगोमा शब्दको क्रम परिवर्तनभन्दा जनताको आर्थिक समस्या समाधान गर्नु सरकारको मुख्य जिम्मेवारी हुनुपर्ने बताउनुभयो । उहाँले महँगी नियन्त्रण, रोजगारी सिर्जना र अर्थतन्त्र सुधारमा सरकार केन्द्रित हुनुपर्ने धारणा राख्नुभयो ।

यद्यपि मन्त्री गोल्डस्मिथले भने यो निर्णय कुनै ध्यान भड्काउने विषय नभई सहज र सामान्य प्रशासनिक सुधार भएको दाबी गर्नुभएको छ ।