न्युजिल्याण्डमा बसोबास गर्दै आएका नेपाली समुदायबीच एकता र भाइचाराको सेतुको रुपमा स्थापित टेन्जिङ–हिलारी कप २०२६ सुरु भएको छ । अकल्यान्डको टेआटाटु साउथस्थित म्याक्लियोड पार्कमा यही शनिबार र आइतबार (७ र ८ फेब्रुअरी) दुई दिनसम्म हुने खेलको शुक्रबार साँझ एक कार्यक्रम गरी उद्घाटन गरिएको छ ।

सन् २०१५ मा सुरु भएको टेन्जिङ–हिलारी कप विश्वप्रसिद्ध पर्वतारोही सर एडमण्ड हिलारी र टेन्जिङ नोर्गे शेर्पाले सगरमाथा आरोहण गर्दा देखाएको साहस र मित्रताको सम्मानस्वरुप स्थापना गरिएको हो । हाल न्युजिल्याण्डमा रहेका नेपाली समुदायबीचको प्रमुख फुटबल प्रतियोगिताका रुपमा परिचित रहेको यो प्रतियोगिताले न्युजिल्याण्डमा रहेका नेपालीसँगै सम्पूर्ण नेपाली भाषीहरुमा खेलकै माध्यमबाट संस्कृति र एकतालाई थप प्रघाट बनाउँदै आएको छ । साथै टेन्जिङ–हिलारी कप न्युजिल्याण्डमा रहेका नेपाली तथा नेपाली भाषी समुदायको सबैभन्दा ठूलो र महत्वपूर्ण खेलकुद कार्यक्रमका रुपमा स्थापित छ ।

नेपाली फुटबल क्लब खुकुरी एफसी इन्क र टेन्जिङ–हिलारी कप समितिले संयुक्त रुपमा आयोजना गरेको प्रतियोगिताको उद्घाटन गर्दै न्युजिल्याण्ड संसदमा टेआटाटु क्षेत्रका प्रतिनिधि फिल ट्वाइफोर्डले वाइटेङ्गी डेको अवसर पारेर प्रतियोगिता आयोजना गर्नु आफैंमा अर्थपूर्ण रहेको बताउनु भयो । उहाँले भन्नु भयो ‘आज वाइटेङ्गी डे हो, यो भनेको एकता र भाइचाराको स्थायित्वको दिन हो । यसै दिनलाई पारेर यो प्रतियोगिता सुरु गर्नुको अर्थ महत्वपूर्ण छ, त्यो हामी सबैले बुझ्नुपर्छ ।’ टेन्जिङ नोर्गे शेर्पा र सर एडमण्ड हिलारीबीचको मित्रताको चर्चा गर्दै सांसद ट्वाइफोर्डले नेपाल र न्युजिल्याण्डबीचको सम्बन्ध र मित्रता पनि त्यस्तै रहेको बताउनु भयो ।

न्युजिल्याण्डका लागि नेपालका अवैतनिक वाणिज्यदूत दिनेश खड्काले टेन्जिङ–हिलारी कपलाई न्युजिल्यान्डका नेपाली समुदायको ‘आइकोनिक’ प्रतियोगिता भएको उल्लेख गर्दै यो प्रतियोगिताले खेलसँग मात्र नभई हामीहरुबीचको एकताको प्रतीक भएको बताउनु भयो । उहाँले भन्नु भयो ‘यो केवल फुटबल प्रतियोगिता होइन, नेपाली समुदायलाई एकतामा बाँध्ने साझा मञ्च हो ।’
आयोजक समितिका संयोजक सुसान्त लामाले यो प्रतियोगिता खेल मात्र नभई नेपाली समुदायलाई एकताबद्ध गर्ने अभियान भएको उल्लेख गर्नु भयो । उनले भने ‘यसले नेपाली समुदायलाई एकै ठाउँमा ल्याउने, विभिन्न पुस्ताबीचको सम्बन्ध बलियो बनाउने र परिवार, युवा तथा ज्येष्ठ नागरिकलाई खेलमार्फत जोड्ने अवसर प्रदान गर्छ ।’ संयोजक लामाका अनुसार प्रतियोगितामा न्युजिल्यान्डमा बसोबास गर्ने नेपाली भाषी समुदायले स्थापना गरेका १८ फुटबल टोली सहभागी हुनेछन् । प्रतियोगितामा १२ ओपन लिग, ३ मास्टर्स र ३ किड्स टिम समावेश हुनेछन् । दुई दिनसम्म चल्ने यस प्रतियोगितामा करिब १,५०० खेलाडी, पदाधिकारी तथा समर्थकहरूको सहभागिता रहने अपेक्षा गरिएको छ । टेन्जिङ–हिलारी कप समितिका सदस्य नितेश लिङ्खा राईले प्रतियोगिताका नियम तथा योजनाबारे जानकारी गराउनु भएको थियो ।

यस वर्षको टेन्जिङ–हिलारी कप खुकुरी एफसीको २०औँ वार्षिकोत्सवसँग पनि जोडिएको छ । सन् २००६ मा स्थापना भएको खुकुरी एफसी न्युजिल्याण्डकै पुराना नेपाली फुटबल क्लबहरुमध्ये एक हो । क्लबले यसअघि सन् २०१६ र २०१८ मा पनि अकल्याण्डमै टेन्जिङ–हिलारी कप आयोजना गरिसकेको छ । क्लबका अध्यक्ष अमित सापकोटाले प्रतियोगितालाई क्लबका लागि गौरवपूर्ण अवसर भएको बताए ।

खेलकुदसँगै टेन्जिङ–हिलारी कप २०२६ मा ‘मिट एन्ड ग्रिट’ कार्यक्रम, स्थानीय खानाका स्टल र विभिन्न व्यवसायिक स्टलहरु पनि रहनेछन् । यसले साना व्यवसायको प्रवद्र्धन गर्नुका साथै समुदायबीच उत्सवमय वातावरण सिर्जना गर्ने आयोजकको लक्ष्य रहेको छ ।

प्रतियोगितालाई सफल बनाउन सहयोग गर्ने विभिन्न संस्थालाई ब्यत्तिलाई कार्यक्रममा सम्मान गरिएको थियो ।