ओमान

ओमानको ५५औं राष्ट्रिय दिवसको अवसरमा गैरआवासीय नेपाली सोसल क्लब ओमानले अल अजैवास्थित समुद्री किनारमा सरसफाइ अभियान सञ्चालन गरेको छ। क्लबका अध्यक्ष सुरेश खड्काका अनुसार, ओमानको राष्ट्रिय दिवसमा नेपाली समुदायको सक्रिय सहभागिता जनाउने उद्देश्यले यो अभियान आयोजना गरिएको हो। राष्ट्रिय दिवसको अवसरमा ओमानभर विभिन्न कार्यक्रमहरू सञ्चालन भइरहेका छन्।

कार्यक्रममा सहभागी हुन पुगेका ओमानस्थित नेपाली राजदूत डोरनाथ अर्यालले नेपाल–ओमान सम्बन्ध सुदृढ बनाउन नेपाली समुदायको योगदान महत्वपूर्ण रहेको उल्लेख गरे। सरसफाइ अभियानमा नेपाली दूतावासका अधिकारीहरू, विभिन्न नेपाली संघ–संस्थाका प्रतिनिधि तथा सोसल क्लबका सदस्यहरूको सहभागिता रहेको थियो। कार्यक्रममा क्लबका सल्लाहकार टीका धितालले ओमानमा रहेका नेपालीहरूले स्थानीय नियम–कानुनको कडाइका साथ पालना गर्नुपर्ने आवश्यकतामा जोड दिए।