काठमाडौं। नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्वकार्यवाहक सभापति गोपालमान श्रेष्ठको ८३ वर्षको उमेरमा निधन भएको छ।
क्यान्सर रोगबाट पीडित श्रेष्ठको मङ्गलबार दिउँसो ललितपुरको जावलाखेलस्थित हेलियस अस्पतालमा उपचारका क्रममा निधन भएको नेपाली कांग्रेसका महामन्त्री गुरु घिमिरेले जानकारी दिनुभयो। उहाँ विगत १५ दिनदेखि अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा उपचाररत हुनुहुन्थ्यो।
स्वर्गीय श्रेष्ठले नेपाली कांग्रेसमा कार्यवाहक सभापति, उपसभापतिलगायत विभिन्न जिम्मेवारी सम्हाल्दै पार्टी संगठन, लोकतान्त्रिक आन्दोलन तथा राष्ट्रिय राजनीतिमा महत्वपूर्ण योगदान पुर्याउनुभएको थियो।
उहाँको पार्थिव शरीर बुधबार बिहान अन्तिम श्रद्धाञ्जलीका लागि नेपाली कांग्रेसको केन्द्रीय कार्यालय, सानेपामा राखिने पार्टीले जनाएको छ।
कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माका अनुसार बुधबार बिहान केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाइएको छ। बैठकले शोक प्रस्ताव पारित गरेपछि पार्टीका नेता–कार्यकर्ता, शुभेच्छुक तथा सर्वसाधारणबाट अन्तिम श्रद्धाञ्जली अर्पण गरिनेछ।
श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएपछि स्वर्गीय श्रेष्ठको पार्थिव शरीर शवयात्रासहित पशुपति आर्यघाट लगेर अन्त्येष्टि गरिने नेपाली कांग्रेसले जनाएको छ।
वरिष्ठ नेता श्रेष्ठको निधनप्रति नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताले गहिरो दुःख व्यक्त गर्दै उहाँको योगदानको उच्च सम्मान गरेका छन्।
