काठमाडौँ। नेपाली जनताले दशकौँदेखि देख्दै आएको आधुनिक सडक सुरुङमार्गको सपना अन्ततः साकार भएको छ। नेपालको पहिलो सडक सुरुङमार्गका रूपमा निर्माण गरिएको नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आज औपचारिक रूपमा उद्घाटन भएसँगै सञ्चालनमा आएको छ। यससँगै नेपाल आधुनिक सुरुङ यातायातको नयाँ युगमा प्रवेश गरेको छ।
पूर्वाधार विकासमन्त्री सुनिल लम्साल, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) का अध्यक्ष तानाका अकिहिको तथा नेपालका लागि जापानी राजदूत माएदा तोरु ले संयुक्त रूपमा सुरुङमार्गको उद्घाटन गरेका हुन्।

नेपाल–जापान सहकार्यको ऐतिहासिक उपलब्धि
उद्घाटन समारोहलाई सम्बोधन गर्दै जाइकाका अध्यक्ष तानाका अकिहिकोले नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गलाई नेपालको यातायात पूर्वाधार विकासको ऐतिहासिक उपलब्धि मात्र नभई नेपाल–जापानबीचको दीर्घकालीन मित्रताको जीवन्त प्रतीक भएको बताए।
उनले यो परियोजनाले सडक पूर्वाधार निर्माणमा मात्रै सीमित नरही सुरुङको योजना, निर्माण, सञ्चालन र मर्मतसम्भारसम्बन्धी नेपालको क्षमता अभिवृद्धिमा समेत महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे। यस उद्देश्यका लागि नेपाल र जापानबीच नयाँ प्राविधिक सहयोग परियोजना सुरु गरिएको जानकारी पनि उनले दिए।
नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पूरा भएको उल्लेख गर्दै उनले दुई देशबीचको विश्वास, सम्मान र विकास साझेदारी अझ सुदृढ हुँदै गएको बताए।
जापानी सहयोग र नेपाली श्रमिकको मेहनत
नेपालका लागि जापानी राजदूत माएदा तोरुले जापान सरकारको आधिकारिक विकास सहायता (ODA), नेपाली प्राविधिक तथा श्रमिकहरूको अथक परिश्रम र दुई देशबीचको सहकार्यका कारण परियोजना सफल भएको बताए।
उनले सुरुङ निर्माणका क्रममा हस्तान्तरण भएको प्रविधि, सीप र सुरक्षा मापदण्डले भविष्यमा नेपालले आफ्नै दक्षतामा यस्ता पूर्वाधार निर्माण तथा सञ्चालन गर्न सक्ने आधार तयार भएको उल्लेख गरे।
यात्रामा नयाँ सुविधा
पूर्वाधार विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले नागढुङ्गा नाका वर्षौंदेखि अत्यधिक ट्राफिक जाम, घुमाउरो सडक र दुर्घटनाको जोखिमका कारण यात्रुका लागि चुनौतीपूर्ण रहेको बताए। सुरुङ सञ्चालनसँगै यात्रा समय उल्लेखनीय रूपमा घट्ने, ट्राफिक जाम कम हुने तथा सुरक्षित आवागमन सुनिश्चित हुने उनको भनाइ छ।
पाँच वर्षपछि पूरा भयो सपना
सन् २०१९ नोभेम्बर १४ मा निर्माण सुरु भएको यो परियोजना प्रारम्भिक सम्झौताअनुसार सन् २०२३ भित्र सम्पन्न हुनुपर्ने थियो। तर कोभिड–१९ महामारी, निर्माण कम्पनीको ढिलाइ, स्थानीय अवरोध तथा पहिरोका कारण आयोजना निर्धारित समयमा सम्पन्न हुन सकेन।
करिब पाँच वर्षपछि निर्माण सम्पन्न भएको यो सुरुङमार्गको कुल लम्बाइ २ हजार ६८८ मिटर रहेको छ। यससँगै २ हजार ५५७ मिटर लामो उद्धार (रेस्क्यु) सुरुङ पनि निर्माण गरिएको छ। परियोजनाअन्तर्गत फ्लाइओभर, पुल, अन्डरपास, ओभरपास, बक्स कल्भर्ट तथा पहुँच सडकसमेत निर्माण गरिएको छ।
समय, दूरी र इन्धन बचत
सडक विभागका अनुसार सुरुङ सञ्चालनमा आएपछि नागढुङ्गा–सिस्नेखोला सडकखण्डको दूरी करिब तीन किलोमिटर घट्नेछ।
ठूला सवारीसाधनको यात्रा समय करिब ३५ मिनेट र साना सवारीसाधनको करिब २० मिनेट बचत हुने अनुमान गरिएको छ। दैनिक हजारौँ सवारीसाधनले उपयोग गर्ने यो मार्गले इन्धनको खपत घटाउनुका साथै वातावरणीय प्रदूषण कम गर्न पनि सहयोग पुग्ने विश्वास गरिएको छ।
आयोजनाका अनुसार सुरुवाती चरणमा सुरुङमार्गबाट चारपाङ्ग्रे तथा अन्य स्वीकृत सवारीसाधन सञ्चालन गरिनेछ भने दुईपाङ्ग्रे सवारीसाधनलाई सुरुङमार्ग प्रयोग गर्न अनुमति दिइने छैन।
सुरुङ प्रयोगको शुल्क
सरकारले यसअघि नै राजपत्रमार्फत सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनका लागि शुल्क निर्धारण गरिसकेको छ।
- कार, भ्यान, पिकअप, ट्र्याक्टर, माइक्रोबस तथा अन्य हलुका सवारीसाधन: काठमाडौँ प्रवेश गर्दा रु ६५, बाहिरिँदा रु ६०
- मिनीबस तथा मिनी ट्रक: रु १२५ / रु ८०
- बस तथा सिङ्गल रियर एक्सल ट्रक: रु २६० / रु २००
- मल्टिएक्सल ट्रक तथा भारी उपकरण: रु ६०० / रु २५०
नेपाल सुरुङमार्गको युगमा
नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनसँगै नेपालले आधुनिक सडक सुरुङ निर्माणमा नयाँ इतिहास रचेको छ। हाल सिद्धबाबा सुरुङमार्ग, काठमाडौं–तराई/मधेश द्रुतमार्गअन्तर्गतका सुरुङलगायत अन्य परियोजनाहरू पनि निर्माणाधीन छन्। यो परियोजनाले नेपालमा सुरुङ निर्माण प्रविधि, दक्ष जनशक्ति विकास तथा भविष्यका जटिल भौगोलिक क्षेत्रमा आधुनिक पूर्वाधार निर्माणको नयाँ आधार तयार गरेको छ। नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनसँगै काठमाडौँको पश्चिमी प्रवेशद्वारमा वर्षौंदेखि रहँदै आएको ट्राफिक जाम, जोखिमपूर्ण यात्रा र समयको बर्बादी न्यूनीकरण हुने अपेक्षा गरिएको छ।
तस्बिर : केशब गुरुङ/गोरखापत्र
