अकल्याण्ड । नेपालको चर्चित लोक–रक ब्यान्ड नेपथ्यका प्रमुख गायक अमृत गुरुङ नेतृत्वको टोली मंगलबार राति न्युजिल्याण्ड आइपुग्दै छन् । गायक गुरुङसहित ब्यान्डका सदस्यहरू सोमबार साँझ नेपालबाट मलेसिया हुँदै न्युजिल्याण्डतर्फ प्रस्थान गरेका हुन् ।
उनीहरू मंगलबार राति करिब ११ बजे अकल्याण्ड एयरपोर्टमा अवतरण गर्ने कार्यक्रम रहेको छ । अकल्याण्डमा आयोजना हुने बहुप्रतीक्षित कन्सर्टका लागि ब्यान्ड न्युजिल्याण्ड आएको हो, जुन आगामी आइतबार अर्थात मे १० मा हुँदैछ ।
आयोजक लाखे इभेन्ट्सले ब्यान्डको स्वागतका लागि विशेष तयारी गरेको छ। टोलीलाई एयरपोर्टमै स्वागत गरी अकल्याण्डस्थित एक होटलमा बसोबासको व्यवस्था गरिएको छ । साथै, न्युजिल्याण्डको परम्परागत माओरी संस्कृति अनुसार ‘हाक्का’ प्रस्तुतिसहित बुधबार बिहान औपचारिक स्वागत कार्यक्रम आयोजना गरिने लाखे इभेन्ट्सका निर्देशक रोजन् भट्टराईले हिमालपारीलाई जानकारी दिए ।
स्वागतपछि ब्यान्डका सदस्यहरूलाई अकल्याण्डका केही प्रमुख पर्यटकीय स्थलहरूको भ्रमण गराइनेछ। कन्सर्ट सम्पन्न भएपछि टोली आगामी हप्ता नेपाल फर्किने कार्यक्रम रहेको छ ।
यसैबीच नेपथ्य कन्सर्टको तयारी अन्तिम चरणमा पुगेको छ । करिब १९ सय टिकट बिक्री भइसकेको छ भने अब केही सिट मात्र बाँकी रहेको आयोजकले जनाएको छ । कार्यक्रममा खाना, चिया–कफीका विभिन्न स्टलहरूका साथै कन्सर्ट सुरु हुनुअघि दर्शकलाई आकर्षित गर्ने उद्देश्यले विभिन्न बाह्य (आउटडोर) गतिविधिहरू पनि समावेश गरिएका छन् ।
नेपथ्य ब्यान्ड नेपाली संगीत क्षेत्रमा तीन दशकभन्दा लामो समयदेखि सक्रिय रहँदै आएको छ। सन् १९९० को दशकदेखि सुरु भएको यस ब्यान्डले नेपाली लोकधुनलाई आधुनिक संगीतसँग मिसाएर नयाँ शैली प्रस्तुत गर्दै आएको छ । ‘रेशम’, ‘छेक्यो छेक्यो’, ‘तालको पानी’, ‘जोमसोम बजारमा’ जस्ता गीतहरू मार्फत ब्यान्डले देश–विदेशमा ठूलो लोकप्रियता कमाएको छ ।
सामाजिक सन्देश बोकेका गीत, मौलिक नेपाली पहिचान र सांगीतिक प्रयोगका कारण नेपथ्यले अन्तर्राष्ट्रिय मञ्चहरूमा समेत आफ्नो छुट्टै स्थान बनाएको छ । अमेरिका, युरोप, अष्ट्रेलिया लगायतका देशहरूमा सफल प्रस्तुति दिइसकेको ब्यान्डको न्युजिल्याण्ड कन्सर्टलाई यहाँका नेपाली समुदायले विशेष चासोका साथ हेरेका छन् ।
