नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापा नेतृत्वको समूहलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले सर्वोच्च अदालतमा रिट दायर गरेको छ।
शेरबहादुर देउवा र पूर्णबहादुर खड्काका तर्फबाट दायर गरिएको रिटमा प्रतिनिधिसभा प्रत्यक्षतर्फको मनोनयन प्रक्रिया स्थगित गर्न अन्तरिम आदेशको पनि माग गरिएको छ। साथै, विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापासहितका पदाधिकारीलाई मान्यता दिने निर्वाचन आयोगको निर्णय बदर गर्नुपर्ने माग अघि सारेको छ।
सर्वोच्च प्रशासनले रिटको पहिलो सुनुवाइ मंगलबारका लागि तोकेको छ। देउवा पक्षले आजै सुनुवाइको माग गरे पनि नियमावलीका कारण सम्भव नभएको जनाउँदै अदालतले मंगलबारलाई पेसी तोकेको हो।
निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनका लागि मंगलबार नै मनोनयन दर्ताको मिति तोकिसकेको अवस्थामा देउवा पक्षले मनोनयन प्रक्रिया स्थगित गर्न र नयाँ मिति तोक्न आयोगको नाममा आदेश जारी गर्न माग गरेको छ। अन्तरिम आदेश नआए आफूहरू निर्वाचन प्रक्रियाबाट वञ्चित हुने उनीहरूको दाबी छ।
रिटमा निर्वाचन आयोग, विशेष महाधिवेशनबाट चयन भएको नयाँ कार्यसमिति, सभापति गगनकुमार थापा तथा उपसभापति विश्वप्रकाश शर्मालाई विपक्षी बनाइएको छ।
यसैबीच कांग्रेस नेता शेखर कोइरालाले आफ्नो समूहका नेता तथा शुभेच्छुकहरूसँग पार्टीभित्र विकसित पछिल्लो घटनाक्रमबारे छलफल थालेका छन्। बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा भइरहेको छलफलमा पछिल्लो राजनीतिक अवस्थाबारे समीक्षा भइरहेको पूर्व सहमहामन्त्री जीवन परियारले जानकारी दिए।
निर्वाचन आयोगले नयाँ कार्यसमितिलाई वैधता दिएपछि कोइरालाले कांग्रेसको रुख चिन्ह र झन्डा जहाँ छ, त्यहीँ उभिने बताउँदै आएका छन्। देउवा पक्षले राजनीतिक र कानुनी लडाइँ लड्ने बताइरहेका बेला कोइरालाले कांग्रेसको मूलधारबाट अलग हुन नसकिने सन्देश दिएका हुन्।
“हाम्रो समूहका नेताहरू रुख चिन्ह र झन्डा जहाँ छ, त्यहीँ रहनेछौं। छुट्टै पार्टी खोल्ने वा स्वतन्त्र उम्मेदवारी उठाउने कुरा हुन सक्दैन,” परियारले भने, “शेखर दाइले यस विषयमा सबै साथीहरूसँग छलफल गरिरहनुभएको छ।”
निर्वाचन आयोगको निर्णयविरुद्ध देउवा पक्षीय नेताहरू आजै सर्वोच्च पुगे पनि सुनुवाइ मंगलबार मात्र हुने भएपछि कांग्रेसभित्रको राजनीतिक गतिविधि थप चर्किएको छ।
फोटो : न्युज एजेन्सी नेपाल
