मुस्ताङ। बिहानको चिसो हावा, वरिपरि सेताम्मे हिमाल, हरियो खर्क र करिब चार हजार मिटरको उचाइ। यहाँ पुग्न सहज छैन। बेनी–जोमसोम सडकबाट घण्टौँ उकालो हिँड्नुपर्छ। तर पनि वर्षा, हिउँ वा कठिन बाटोले रोग निको हुने आशालाई रोक्न सक्दैन। त्यही आशालाई साक्षी राख्दै मानिसहरू निरन्तर अघि बढिरहन्छन् र यात्रा रोकिन्छ, मुस्ताङको थासाङ गाउँपालिकास्थित मार्चे लेकमा पुगेर।

यतिबेला यो मार्चे लेक एउटा यस्तो गन्तव्य बनेको छ, जहाँ आधुनिक अस्पतालमा उपचार गराएर पनि निको नभएका, तर निको हुने आशा बोकेका सयौँ मानिसको भिड लागेको छ। त्यो भिड केवल त्यहाँ रहेका सयौँ चौँरीमध्ये कुनै एकको आलो रगत पिउनका लागि हो। आलो रगत पिउन उनीहरू लाइन लागेर बस्छन्। चौँरीको आलो रगत पिउँछन् अनि आफ्नो शरीरमा भएको रोग निको हुने आशा बोकेर घर फर्कन्छन्।

पोखरा महानगरपालिका–१५ रामबजारका रामप्रसाद तिलिजा त्यही आशा बोकेर चौँरीको आलो रगत पिउनेमध्येका एक हुन्। ग्यास्ट्रिक र गानो–गोलासम्बन्धी समस्याले लामो समयसम्म सताएपछि उहाँले विभिन्न अस्पतालमा उपचार गराउनुभयो। औषधि खाँदा केही समय सहज भए पनि समस्या पूर्ण रूपमा निको भएन। त्यसपछि साथीभाइको सल्लाहमा पहिलो पटक मार्चे लेक पुगेर चौँरीको आलो रगत पिउनुभयो। उहाँले थप्नुभयो, त्यसपछि जीवन केही सहज भयो। पहिलेभन्दा केही राहत महसुस भयो शरीरलाई। अनि उहाँ प्रत्येक वर्ष त्यहाँ पुग्न थाल्नुभयो।

उहाँले भन्नुभयो, “लगातार तीन वर्षदेखि म वर्षमा दुई पटक यहाँ आएर चौँरीको आलो रगत पिउने गर्छु। त्यहाँ रहुन्जेल दैनिक दुई गिलास आलो रगत पिउँछु। त्यसले स्वास्थ्यमा धेरै सुधार भएको महसुस गरेँ। त्यसैले अहिले साथीहरूसँग नियमित आउँछु।”

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ तातोपानीकी सानियाँ रन्तिजा पनि आफन्तसँगै यही विश्वास बोकेर मार्चे लेक पुग्नुभएको छ। उहाँजस्तै नेपालका विभिन्न जिल्लाबाट आएका धेरै मानिस एक सातासम्म हिमाली खर्कमै बस्दै दैनिक चौँरीको ताजा रगत पिउने गर्छन्। उनीहरूको साझा विश्वास एउटै छ—हिमाली जडीबुटी खाएर हुर्किएको चौँरीको रगतले शरीरमा नयाँ ऊर्जा दिन्छ र लामो समयदेखि निको नभएका केही रोगमा राहत मिल्छ।

साउन १ गतेदेखि मार्चे याक–नाक संरक्षण समितिले सञ्चालन गरेको वार्षिक मेलामा प्रतिकूल मौसमका बाबजुद दिनहुँ सयौँ मानिसको उपस्थिति देखिन्छ। समितिका सदस्य सोजन हिराचनका अनुसार दैनिक दुई सयभन्दा बढी मानिस चौँरीको आलो रगत पिउन पुग्ने गरेका छन्। उहाँका अनुसार पहिलो पटक आउनेभन्दा धेरै वर्षदेखि नियमित आउनेहरूको संख्या बढी छ। “धेरैजसो मानिस एक सातासम्म बस्छन्। कतिपयले १५ गिलाससम्म रगत पिउने गर्छन्। अस्पतालमा उपचार गराएर पनि सन्तुष्ट नभएका मानिस यहाँ धेरै भेटिन्छन्,” उहाँले भन्नुभयो।

चार हजार मिटरभन्दा माथिका खर्कमा पाइने यार्सागुम्बा, निरमसीलगायत बहुमूल्य जडीबुटी चरिरहेका याक–नाकको तातो रगत गानो–गोला, अपच, हाडजोर्नी, नसासम्बन्धी समस्या, शरीरको कमजोरी तथा यौन स्वास्थ्यसम्बन्धी समस्यामा लाभदायी हुने विश्वास छ। यद्यपि, यसबारे वैज्ञानिक पुष्टि भने सीमित रहेको चिकित्सकहरू बताउँछन्। विश्वास र अनुभवकै आधारमा वर्षेनी हजारौँ मानिस यहाँ पुग्ने गरेका छन्।

मार्चे याक–नाक संरक्षण समितिका संयोजक महेन्द्र शेरचनका अनुसार मेलाले स्थानीय चौँरीपालक किसानको जीवनमा ठूलो आर्थिक टेवा पुर्‍याएको छ। “हामीले मेलाबाट उठेको आम्दानी चौँरीपालकलाई नै वितरण गर्छौँ। यसले याक–नाक संरक्षण, गोठ विस्तार र किसानलाई प्रोत्साहन गर्न मद्दत गर्छ,” उहाँले भन्नुभयो।

यस वर्ष मेलामा १० वटा गोठका करिब ७५० याक–नाक ल्याइएको छ। एउटा चौँरीबाट सामान्यतया १५ देखि २० गिलास र केहीबाट ३० देखि ५० गिलाससम्म रगत निकाल्ने गरिएको छ। चौँरीको घाँटीमा सानो धारिलो फलामको औजार प्रयोग गरेर रगत निकालिन्छ। एक गिलास रगतको मूल्य दुई सय रुपैयाँ तोकिएको छ।

रगत मात्र होइन, याकको मासु, घिउ, छुर्पी, सिङ, पुच्छर र पित्त पनि यहाँ बिक्री हुने गर्छ। मेला अवधिभर बस्ने आगन्तुकले रगतसँगै मासु तथा अन्य परिकारमा पाँच हजारदेखि २५ हजार रुपैयाँसम्म खर्च गर्ने गरेको आयोजक बताउँछन्। म्याग्दी, कास्की, काठमाडौं, बुटवललगायतका स्थानबाट बसाइँ सरेर गएका नेपालीहरू पनि विशेष रूपमा यही समयमा गाउँ फर्केर मेलामा सहभागी हुने गरेका छन्। आयोजकका अनुसार आउनेमध्ये करिब ७० प्रतिशत सहभागी म्याग्दी जिल्लाका हुन्छन्।

यद्यपि, चिकित्सा विज्ञानले आलो रगत सेवनबारे सावधानी अपनाउन सुझाव दिएको छ। चिकित्सकहरूका अनुसार आलो रगतमा परजीवी, जीवाणु वा अन्य विषाक्त पदार्थ हुन सक्ने भएकाले पकाएर वा तताएर सेवन गर्नु सुरक्षित हुन्छ। आलो रगत सेवनलाई कुनै पनि रोगको प्रमाणित उपचारका रूपमा स्वीकार गरिएको छैन। यही जोखिमलाई ध्यानमा राख्दै कृषि तथा पशु विकास कार्यालय मुस्ताङ र थासाङ गाउँपालिकाले मेलामा ल्याइएका चौँरीलाई जुकाविरुद्ध निःशुल्क औषधि वितरण गर्दै आएका छन्।

हिमाली भेगमा गोरुजस्तो देखिने भाले जनावरलाई याक र गाईजस्तो देखिने पोथीलाई नाक भनिन्छ। यिनै याक–नाकको संरक्षण, प्रजनन र चौँरीपालनलाई दिगो बनाउने उद्देश्यले सञ्चालन हुँदै आएको यो मेला अहिले स्थानीय अर्थतन्त्रको मुख्य आधारसमेत बनेको छ।

वैशाख महिनामा कालिगण्डकी करिडोरअन्तर्गत घट्टेखोलामा सञ्चालन हुने यस्तै मेलामा पुग्न नसक्ने धेरै मानिस साउनमा मार्चे लेक पुग्ने गरेका छन्। साउन १० गतेसम्म सञ्चालन हुने यस वर्षको मेलामा पनि विश्वास, परम्परा र उपचारको आशा बोकेर हिमाल चढ्ने मानिसहरूको यात्रा निरन्तर जारी छ।