काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले पछिल्लो समय ‘नयाँ शक्ति’का नाममा भइरहेको चर्चालाई होहल्ला मात्र भएको टिप्पणी गर्नुभएको छ । संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने र उत्पीडित वर्गका हक–अधिकार सुनिश्चित गर्ने शक्ति आफ्नै पार्टी भएकाले वास्तविक अर्थमा सबैभन्दा नयाँ र प्रगतिशील शक्ति नेपाली कम्युनिष्ट पार्टी नै भएको उहाँको दाबी छ ।
काठमाडौंमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै संयोजक दाहालले महिला, दलित, आदिवासी, जनजाति, मधेसी, मुस्लिम र थारू समुदायलाई पहिचान र अधिकार दिलाउने ऐतिहासिक भूमिका आफ्नो पार्टीले खेलेको उल्लेख गर्नुभयो । विचार र एजेण्डाका आधारमा मात्र नयाँ र पुरानो छुट्याउनुपर्ने उहाँको भनाइ थियो ।
राष्ट्रिय स्वतन्त्र पार्टीप्रति संकेत गर्दै दाहालले तथाकथित नयाँ भनिने शक्तिहरूको कारण देश संकटतर्फ धकेलिएको आरोप लगाउनुभयो । उहाँले सामाजिक सञ्जालमार्फत नयाँको भ्रम फैलाइरहेको भन्दै दलाल पुँजीपति र विचौलियाको प्रभावमा चल्नेहरू नयाँ हुन नसक्ने तर्क गर्नुभयो ।
संयोजक दाहालले भन्नुभयो, “नयाँ र पुरानो भन्ने कुरा विचार र एजेण्डाले निर्धारण गर्छ । जसले जनताको हक, अधिकार र पहिचानका लागि लड्यो, संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्यो, त्यो नै नयाँ हो । राष्ट्र र जनताको हितमा समर्पित शक्ति नै वास्तविक नयाँ शक्ति हो ।”
उहाँले परिवर्तनको प्रक्रियामा बसेर परिवर्तनका वाहकलाई नै गाली गर्नेहरू नयाँ हुन नसक्ने उल्लेख गर्दै देश अहिले गम्भीर संकटको अवस्थामा रहेको धारणा व्यक्त गर्नुभयो ।
