काठमाडौं । नेपाली क्रिकेट टोलीले तेस्रोपटक आईसीसी टी–२० विश्वकपमा सहभागिता जनाउने भएको छ । आगामी फेब्रुअरी–मार्चमा भारत र श्रीलंकामा आयोजना हुने विश्वकपका लागि नेपाल क्रिकेट संघ (क्यान) ले १५ सदस्यीय टोली सार्वजनिक गरिसकेको छ । युवा जोश र अनुभवी खेलाडीको सन्तुलन रहेको यो टोलीलाई नेपाली क्रिकेटको अर्को महत्वपूर्ण यात्राका रूपमा हेरिएको छ ।

नेपालका लागि सन् २०१४ मा पहिलोपटक टी–२० विश्वकप खेलेका सोमपाल कामी यसपटक पनि टोलीमा समावेश छन् । उनी तीनै संस्करणको विश्वकप खेल्ने एकमात्र नेपाली खेलाडी बनेका छन् । बाँकी खेलाडीमध्ये केही पहिलोपटक र केही दोस्रोपटक विश्वकप खेल्न लागेका हुन् । कप्तान रोहित पौडेलसहित नौ खेलाडी दोस्रोपटक विश्वकपमा सहभागी हुँदै छन् भने पाँच खेलाडीले पहिलोपटक विश्वकप खेल्ने अवसर पाएका छन् ।

कप्तान रोहित पौडेलले लगातार दोस्रोपटक टोलीको नेतृत्व गर्दै विश्वकप खेल्न लागेका छन् । २३ वर्षीय अलराउन्डर रोहित नेपाली टोलीका सबैभन्दा कान्छा कप्तानसमेत हुन् । उनले हालसम्म नेपालका लागि ७६ टी–२० अन्तर्राष्ट्रिय खेलमा ८ अर्धशतकसहित १६३७ रन बनाइसकेका छन् । बलिङतर्फ १३ विकेट लिएका रोहितले गत विश्वकपमा पनि ब्याट र बल दुवैबाट योगदान दिएका थिए । टोली घोषणा पछि उनले तयारी राम्रो भएको, विदेशी प्रशिक्षकको आगमनले टोलीलाई थप मजबुत बनाएको र मैदानमा शतप्रतिशत दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

उपकप्तान दीपेन्द्रसिंह ऐरी पनि दोस्रोपटक विश्वकप खेल्दै छन् । नेपाली क्रिकेटका स्टार अलराउन्डर दीपेन्द्र टी–२० अन्तर्राष्ट्रियमा नेपालका लागि सर्वाधिक रन बनाउने खेलाडी हुन् । ९० खेलमा १ शतक र १० अर्धशतकसहित १९५६ रन बनाइसकेका उनी २००० रनको कोशेढुंगा नजिक छन् । बलिङमा पनि ५८ विकेट लिएका दीपेन्द्रले यसपटक सुपर–८ मा पुग्ने लक्ष्य रहेको बताएका छन् ।

तीनवटै विश्वकप खेल्ने सोमपाल कामी टोलीका सबैभन्दा अनुभवी खेलाडी हुन् । दाँयाहाते पेस बलर सोमपालले ८६ टी–२०आई खेलमा ८१ विकेट लिएका छन् । सन् २०१४ को विश्वकपलाई स्मरण गर्दै उनले त्यो यात्रा नेपाली क्रिकेटलाई विश्वसामु चिनाउने ऐतिहासिक क्षण भएको बताएका छन् ।

ओपनर कुशल भुर्तेल, विकेटकिपर ब्याटर आसिफ शेख, अलराउन्डर करण केसी, लेग स्पिनर सन्दीप लामिछाने, स्पिनर ललित राजवंशी, युवा अलराउन्डर गुल्शन झा र ब्याटर सन्दीप जोरा पनि दोस्रोपटक विश्वकप खेल्ने सूचीमा छन् । यी खेलाडीहरूले अघिल्लो संस्करणमा अनुभव बटुलेका कारण यसपटक थप आत्मविश्वासका साथ मैदान उत्रने अपेक्षा गरिएको छ ।

यसैगरी, पाँच खेलाडीले पहिलोपटक विश्वकप खेल्ने अवसर पाएका छन् । एनपीएलमा उत्कृष्ट प्रदर्शन गरेका मिस्ट्री स्पिनर शेर मल्ल, अलराउन्डर बसिर अहमद, ब्याटर आरिफ शेख, पेस बलर नन्दन यादव र विकेटकिपर ब्याटर लोकेश बम पहिलोपटक विश्वकप टोलीमा समेटिएका हुन् । युवा खेलाडीको यो समूहले टोलीलाई नयाँ ऊर्जा र विकल्प प्रदान गर्ने विश्वास गरिएको छ ।

नेपालले समूह चरणका सबै खेलहरू मुम्बईस्थित वानखेडे स्टेडियममा खेल्नेछ । समूह चरणमा नेपालले इंग्ल्यान्ड, इटाली, वेस्ट इन्डिज र स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ । विश्वस्तरीय मैदान र बलिया प्रतिद्वन्द्वीबीच खेल्नु नेपाली टोलीका लागि चुनौतीसँगै अवसरसमेत हो ।

अनुभव, युवा जोश र आत्मविश्वासको मिश्रण रहेको यो टोलीबाट नेपाली क्रिकेट समर्थकले ऐतिहासिक प्रदर्शनको अपेक्षा गरेका छन् । तेस्रो विश्वकपमा नेपालले निरन्तरतासहित आफूलाई बलियो प्रतिस्पर्धीका रूपमा स्थापित गर्ने लक्ष्य लिएको स्पष्ट देखिन्छ ।