काठमाडौं । ५ मंसिर

आगामी तीन हप्ताभित्र राहदानीको पहिलो किस्ता नेपाल आउने भएको छ। राहदानी विभागले शुक्रबार सार्वजनिक गरेको विज्ञप्तिमा नयाँ राहदानी पुस्तिकाको आपूर्ति क्रमशः बढ्दै जाने र सेवाग्राहीलाई लामो समय कुर्नुपर्ने अवस्था अन्त्य हुने उल्लेख छ।

विभागका अनुसार साविककै फ्रान्सेली आपूर्तिकर्ता कम्पनीसँग मूल्य नबढ्ने गरी ७ लाख विद्युतीय राहदानी खरिद सम्झौता गरिएको छ, जसले आपूर्ति संकट समाधान हुने विश्वास दिलाएको छ। विभागले राहदानी जारी प्रक्रिया सहज बनाउन तीन महत्वपूर्ण व्यवस्था लागू गरेको छ ।

अपोइन्टमेन्ट स्लट विस्तार :
दैनिक १ हजार खुल्ने स्लट सेवाग्राहीको माग र विभागको क्षमता अनुसार क्रमशः बढाइनेछ। आवश्यक परे जनशक्ति परिचालन बढाएर आवेदन प्रक्रिया सहज बनाइनेछ।

विदेशस्थित नेपाली नियोगका आवेदकहरूको राहदानी:
विदेशबाट आवेदन दिनेहरूको राहदानी एक–दुई हप्ताभित्र छपाइ गरी नियोगमा पठाइनेछ ।

जिल्ला प्रशासन कार्यालयमार्फत आवेदन दिनेहरू :
– १५ कात्तिकसम्म आवेदन दिनेहरूको राहदानी दुई हप्ताभित्र
– १५ कात्तिकपछि आवेदन दिनेहरूको राहदानी पुरानै प्रणालीअनुसार क्रमशः छपाइ गरी पठाइनेछ।

विभागका अनुसार नयाँ मौज्दात उपलब्ध भएपछि राहदानी पुस्तिका उत्पादनमा गरिएको कटौती हटाइनेछ। यसअघि मौज्दात अभावका कारण दैनिक एक हजार पुस्तिकामा सीमित गर्नुपरेको थियो, जबकि नवीकरण र नयाँ आवेदन गरी दैनिक करिब ६ हजार माग आउँदै आएको थियो। आपूर्ति अभावले सेवाग्राहीहरू लामो समयदेखि गम्भीर समस्यामा परिरहेका थिए। विभागले आगामी हप्तादेखि राहदानी वितरण प्रक्रियामा उल्लेखनीय सुधार देखिने दाबी गरेको छ।

विज्ञप्ति