न्युजिल्यान्डमा पहिलो पटक सडकको किनारामै ड्रग परीक्षण सुरु गरिएको छ। यसअघि प्रहरीले सडकमा सवारी साधन रोकी चालकले मदिरा सेवन गरे–नगरेको मात्र परीक्षण गर्दै आएको थियो। तर सवारी दुर्घटनामा परी मृत्यु हुनेमध्ये अधिकांश चालक लागुऔषध सेवन गरी सवारी चलाउने गरेको पाइएको भन्दै न्युजिल्यान्ड सरकारले मदिरासँगै लागुऔषधको पनि परीक्षण सुरु गरेको हो।
न्युजिल्यान्डको राजधानी वेलिङ्टनबाट सुरु गरिएको यो परीक्षण आगामी वर्षदेखि देशभर लागू गरिने प्रहरीको भनाइ छ। प्रहरीले सडकमा गुडिरहेका सवारी साधन रोकी ड्रग परीक्षण गर्नेछ। चालकले परीक्षण अस्वीकार गर्न सक्ने भए पनि त्यसको कानुनी परिणाम भोग्नुपर्नेछ।
प्रहरी सुपरिन्टेन्डेन्ट स्टिभ ग्रेलीका अनुसार प्रिस्क्रिप्सन वा चिकित्सकीय नोट देखाएर परीक्षणबाट उम्कन पाइँदैन। सडक किनारको ड्रग परीक्षण अस्वीकार गर्ने चालकलाई उल्लङ्घन सूचना जारी गरिनेछ, जसमा ४ सय डलर जरिवाना, ७५ लाइसेन्स डिमेरिट अंक र १२ घण्टासम्म सवारी चलाउन प्रतिबन्ध समावेश हुनेछ।
परीक्षणका लागि छनोट गरिएका सबै चालकलाई मुखको लार प्रयोग गर्ने परीक्षण उपकरणमा जिब्रो स्वाइप गर्न भनिनेछ। यसमार्फत चार प्रकारका ड्रग—क्यानाबिसमा पाइने टीएचसी, मेथाम्फेटामिन, एमडीएमए (एक्स्टेसी वा मोली) र कोकेन—को परीक्षण गरिनेछ।
प्रारम्भिक परीक्षणमा करिब १० मिनेट लाग्ने अपेक्षा गरिएको छ। यदि पहिलो परीक्षणको नतिजा सकारात्मक आएमा थप सडक किनारका परीक्षण गरिनेछन्।
ड्रगको प्रभावमा चालक रहेको आशंका लागेमा प्रहरीले ‘कम्पल्सरी इम्पेयरमेन्ट टेस्ट’ (सीआईटी) नामक व्यवहारिक परीक्षण पनि प्रयोग गर्नेछ।
ग्रेलीका अनुसार एकपटक लार परीक्षण गरिसकेपछि प्रिस्क्रिप्सन वा चिकित्सकीय नोट प्रयोग गरी सकारात्मक नतिजा तुरुन्तै चुनौती दिन सकिँदैन। प्रिस्क्रिप्सन भएका व्यक्तिले पनि सम्पूर्ण परीक्षण प्रक्रिया पूरा गर्नुपर्नेछ र १२ घण्टासम्म सवारी चलाउन निषेध गरिनेछ। प्रयोगशालाबाट तेस्रो परीक्षणको नतिजा आएपछि मात्र त्यसविरुद्ध कानुनी प्रक्रिया अघि बढाउन सकिनेछ।
यदि तपाईं परीक्षणका लागि छनोट हुनुभयो भने के हुन्छ?
पहिलो परीक्षण:
परीक्षणमा परेका चालकले उपकरणको प्याड जिब्रोमा पोत्नुपर्नेछ। परीक्षण प्रक्रिया करिब १० मिनेटमा सम्पन्न हुन्छ। यदि कुनै ड्रग पत्ता लागेन भने चालकलाई जान दिइनेछ।
दोस्रो र तेस्रो परीक्षण:
पहिलो परीक्षणमा ड्रग देखिएमा थप दुईवटा परीक्षण गरिनेछ।
दोस्रो परीक्षण पनि पहिलो जस्तै हुनेछ। दोस्रो परीक्षणमा पनि ड्रग पत्ता लागेमा चालकलाई १२ घण्टासम्म सवारी चलाउन निषेध गरिनेछ।
यदि दोस्रो परीक्षण नकारात्मक आएमा, तेस्रो स्याम्पल लिएपछि चालक जान सक्नेछ।
तेस्रो परीक्षण:
प्रहरीका अनुसार चालकले जिब्रोमुनि शोषक प्याड राखी लारको नमुना दिनुपर्नेछ। उक्त नमुना प्रयोगशालामा परीक्षणका लागि पठाइनेछ।
प्रयोगशाला परीक्षण:
तेस्रो नमुनामा २५ प्रकारका ड्रग्सको परीक्षण गरिनेछ। यदि यीमध्ये एक वा बढी ड्रग्स सकारात्मक देखिएमा उल्लङ्घन सूचना जारी गरिनेछ। प्रयोगशालामा पठाइएको अन्तिम परीक्षणको नतिजा आउन कति समय लाग्छ भन्नेबारे प्रहरीले तत्काल जानकारी दिन सकेको छैन।
मेडिकल डिफेन्स:
प्रयोगशाला परीक्षणपछि उल्लङ्घन सूचना जारी भएमा, यदि त्यो ड्रग प्रिस्क्रिप्सन अनुसार सेवन गरिएको हो भने चालकले मेडिकल डिफेन्सका लागि आवेदन दिन सक्ने प्रहरीको भनाइ छ।
फोटो एनजेड हेराल्ड
