राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्दै लिङदेनले गृहमन्त्री सुदन गुरुङको सम्पत्ति शुद्धिकरण मुद्दामा पक्राउ परेका व्यवसायी दीपक भट्टसँगको कथित साझेदारीबारे सरकारसँग तत्काल स्पष्ट पार्न माग गरेका छन् ।

स्टार माइक्रो इन्स्योरेन्स कम्पनीमा गृहमन्त्री गुरुङले आफ्नै नाममा शेयर लिएको कागजात सार्वजनिक भइरहेको सन्दर्भमा अध्यक्ष लिङदेनले सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै सरकार र सत्तारुढ दलको नेतृत्वलाई धारणा स्पष्ट गर्न आग्रह गरे । उनले सुशासनको कुरा गर्ने सरकारले गृहमन्त्रीसँग सम्बन्धित विषयमा आएका समाचारप्रति मौन बस्न नहुने बताए ।

अध्यक्ष लिङदेनले ‘देखावटी काम’ गरेर देश सञ्चालन गर्न नसकिने भन्दै सरकारको आलोचना गरे । साथै, अवैध संरचना हटाउने नाममा सडकछेउका घरटहरा भत्काउने कार्यले राज्य आतंक फैलाएको आरोप पनि लगाए ।

उनले मुलुकमा राजसंस्थालाई अभिभावकीय संस्थाका रूपमा पुनः स्थापित गर्नुपर्ने धारणा राख्दै निर्वाचनमा पार्टीलाई सहयोग नगर्ने नेता तथा कार्यकर्तामाथि कडा कारबाही गर्ने चेतावनी समेत दिए ।