काठमाडौं । नेपाली कांग्रेस संसदीय दलले आगामी हप्ताभित्र नयाँ नेता चयन गर्ने तयारी गरेको छ । यस विषयमा पार्टीभित्र आन्तरिक छलफल तीव्र रूपमा अघि बढाइएको जनाइएको छ ।

सांसद अर्जुननरसिंह केसीले संसदीय दलको नेतृत्व चयन प्रक्रिया छिट्टै टुंगोमा पुग्ने संकेत गरेका छन् । उनका अनुसार दलभित्र सहमति कायम गर्दै नयाँ नेतृत्व चयन गर्ने प्रयास भइरहेको छ ।

कांग्रेसभित्र संसदीय दलको नेताका लागि विभिन्न नेताहरूबीच आन्तरिक परामर्श जारी रहेको छ । नेतृत्व चयन प्रक्रियाले पार्टीको आगामी रणनीति र संसदमा भूमिकालाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ । पार्टी स्रोतका अनुसार सहमतिको प्रयास असफल भएमा निर्वाचनमार्फत नेता चयन गर्ने विकल्प पनि खुला राखिएको छ ।