काठमाडौं — नेपाली कांग्रेसको संस्थापन पक्षले इतर समूहले राजधानीमा आयोजना गरेको राष्ट्रिय सम्मेलनबाट पारित प्रतिवेदनप्रति आपत्ति जनाएको छ।

आइतबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै कांग्रेस प्रवक्ता देवराज चालिसेले इतर समूहको राष्ट्रिय सम्मेलनबाट पारित निर्णयप्रति संस्थापन पक्षको ध्यानाकर्षण भएको बताए। उनले सम्मेलनबाट गरिएका निर्णयलाई केन्द्रीय समितिले नजिकबाट नियालिरहेको जानकारी दिए।

इतर समूहले १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिले नै १५औँ महाधिवेशन सभापति शेरबहादुर देउवाको नेतृत्वमा गराउनुपर्ने प्रस्ताव अघि सारेको विषयमा प्रतिक्रिया दिँदै प्रवक्ता चालिसेले यस्तो व्यवस्था कांग्रेसको विधानअनुकूल नरहेको दाबी गरे।

उनले कांग्रेसभित्र गम्भीर विवाद नभई केही असन्तुष्टि मात्र रहेको जिकिर गर्दै पार्टीभित्रका असहमति र मतभेदलाई पार्टीकै आधिकारिक फोरममार्फत समाधान गर्नुपर्ने बताए।

पार्टीको नेतृत्व अदालतबाट चयन हुने नभई पार्टीको वैधानिक प्रक्रियाबाटै तय हुनुपर्ने उनको भनाइ थियो। विशेष महाधिवेशनबाट निर्वाचित गगन थापाको नेतृत्व कांग्रेसको विधानअनुसार चयन भएको र त्यसलाई अदालत तथा निर्वाचन आयोगले समेत मान्यता दिएको प्रवक्ता चालिसेले दाबी गरे।

उनले विशेष महाधिवेशनमा असहमति राख्दै आएका विषयलाई आगामी १५औँ महाधिवेशनमा लोकप्रिय राजनीतिक एजेन्डाका रूपमा प्रस्तुत गरी पार्टीभित्रैबाट अघि बढ्न इतर समूहलाई आग्रह गरे।