एयर न्युजिल्याण्डका ४०० भन्दा बढी क्याबिन क्रुले कम्पनीसँग ‘सैद्धान्तिक सहमति’ जुटेपछि क्रिसमसअघि गर्ने भनिएको हड्ताल फिर्ता लिएका छन् ।
घरेलु उडानसँगै तास्मान र प्रशान्त क्षेत्रका उडानमा कार्यरत छोटो दूरीका क्याबिन क्रुहरूले तलब तथा कार्य सर्त सुधारको माग गर्दै डिसेम्बर १८ मा हड्ताल गर्ने तयारी गरेका थिए । युनियन र एयर न्युजिल्याण्डबीच अप्रिलदेखि वार्ता जारी थियो ।
ई–टु की सहायक राष्ट्रिय सचिव रेचेल म्याकिन्टोसका अनुसार सम्झौता अन्तिम चरण नजिक पुगेकाले हड्ताल फिर्ता लिइएको हो । केही शब्दावली भने आगामी एक साताभित्र टुंग्याइने बताइएको छ ।
एयर न्युजिल्याण्डकी प्रमुख जनशक्ति अधिकृत निक्की डाइन्सले क्रिसमस अवधिमा यात्रुहरू प्रभावित नहुने अवस्था बनेकोमा सन्तोष व्यक्त गरिन् । उनले क्याबिन क्रुको भूमिकालाई सम्मान गर्ने र एयरलाइन्सको दीर्घकालीन स्थायित्वलाई ध्यानमा राख्दै सहमतिको प्रयास गरिएको बताइन् ।
यसअघि डिसेम्बर ८ का लागि तय गरिएको हड्ताल पनि अन्तिम समयमा फिर्ता लिइएको थियो । एयर न्युजिल्याण्डले सबै फ्लीटमा हड्ताल भएमा १० देखि १५ हजार यात्रु प्रभावित हुन सक्ने प्रारम्भिक अनुमान गरेको थियो ।
