गैरआवासीय नेपाली संघ (एनआरएनए)को १२औँ विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय अधिवेशन काठमाडौंमा सुरु भएको छ।

राजधानीस्थित सोल्टी होटलमा आयोजित कार्यक्रमको उद्घाटन परराष्ट्रमन्त्री बालानन्द शर्मा र पूर्वप्रधानमन्त्री झलनाथ खनालले पानसमा दीप प्रज्वलन गरेर गरेका हुन्।उद्घाटन समारोहलाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री शर्माले प्रवासमा रहेका नेपालीको अनुभव, सीप र अन्तर्राष्ट्रिय सम्पर्क नेपालको विकास र रूपान्तरणका लागि महत्त्वपूर्ण रहेको बताए। उनले गैरआवासीय नेपालीको लगानी र ज्ञानले औद्योगिक विकास, रोजगारी सिर्जना तथा आर्थिक समृद्धिमा योगदान पुर्‍याउने विश्वास व्यक्त गरे।

नेपालको संविधान र कानुनले गैरआवासीय नेपालीलाई राष्ट्रको साझेदारका रूपमा स्वीकार गरेको उल्लेख गर्दै उनले लगानी, प्रविधि हस्तान्तरण र सांस्कृतिक सम्बन्धलाई अझ मजबुत बनाउनुपर्ने बताए। विश्वमा देखा परिरहेका नयाँ चुनौतीबीच गैरआवासीय नेपालीले ज्ञान, पुँजी र प्रविधिको विस्तारमा भूमिका खेल्नुपर्ने उनको भनाइ थियो।

मन्त्री शर्माले पछिल्ला दिनमा मध्यपूर्वमा देखिएको संकटप्रति सरकार गम्भीर रहेको उल्लेख गर्दै विदेशमा रहेका नेपालीको सुरक्षा, हित र सहयोगलाई प्राथमिकतामा राखेर काम भइरहेको बताए। खाडी क्षेत्रमा कार्यरत नेपालीको सुरक्षाका लागि आपत्कालीन नियन्त्रण कक्ष सञ्चालनमा ल्याइएको र आवश्यक सहयोगका लागि नेपाली नियोगमार्फत सम्पर्क व्यवस्था गरिएको उनले जानकारी दिए।

कार्यक्रममा एनआरएनएका कार्यकारी अध्यक्ष महेशकुमार श्रेष्ठले प्रवासमा रहेका नेपालीको मनमा मातृभूमिप्रति गहिरो भावना रहेको बताए। संघभित्र देखिएको विवाद अन्त्य भई एकता कायम भएको उल्लेख गर्दै उनले समृद्ध नेपालको अभियानमा गैरआवासीय नेपालीको महत्वपूर्ण योगदान रहने बताए।

संस्थापक अध्यक्ष उपेन्द्र महतोले व्यक्तिगत सफलताभन्दा देशको समृद्धि महत्वपूर्ण हुने भन्दै “नेपालका लागि नेपाली” नारासहित सुरु गरिएको अभियानलाई अझ बलियो बनाउन सबैलाई आह्वान गरे। उनले विश्वभर रहेका नेपालीले आफ्नो क्षमता र अनुभव देशको विकासमा लगाउनुपर्ने बताए।कार्यक्रममा कार्यकारी अध्यक्ष डा. बद्री केसीले एनआरएनएभित्रको विभाजन अन्त्य भई एकताको यात्रा सुरु भएको बताए। उनले गैरआवासीय नेपाली नागरिकता, लगानीसम्बन्धी कानुन र अन्य नीतिगत जटिलता हटाउन सरकारसँग पहल गर्न आग्रह गरे।

पूर्वअध्यक्षहरू जीवा लामिछाने, भवन भट्ट, आरके शर्मा, विनोद कुँवर लगायत वक्ताहरूले पनि प्रवासी नेपालीको ज्ञान, सीप र लगानीलाई देशको विकाससँग जोड्नुपर्नेमा जोड दिएका थिए। उनीहरूले संघभित्रको एकताले मात्र एनआरएनए अभियानलाई सशक्त बनाउने बताएका थिए।