पौष शुक्ल पूर्णिमाका दिनदेखि सुरु भएको एक महिने स्वस्थानी व्रतकथा आज माघ शुक्ल पूर्णिमाका दिन आज विधिपूर्वक सम्पन्न भएको छ। एक महिनासम्म चलेको तपस्या, संयम, श्रद्धा र भक्ति आज औपचारिक रूपमा समापन भएको हो ।

स्वस्थानी व्रतकथाको अवधिभर घर–घरमा पवित्र कथा वाचन गरिँदै आएको थियो। यस कथाले श्रद्धालुहरूको मनमा धैर्य, विश्वास, आत्मसंयम र मानसिक शान्तिको गहिरो सन्देश छोडेको छ। शिव–पार्वतीको लीला, नव रानीको कथा, तथा स्वस्थानी माताको महिमा समेटिएका प्रसङ्गहरू आज अन्तिम अध्यायसम्म पुगेका छन्, जसले धार्मिक आस्था र नैतिक मूल्यलाई थप बलियो बनाएको छ।

व्रत बस्ने श्रद्धालुहरूले परिवारको सुख–समृद्धि, सुस्वास्थ्य, दीर्घायु तथा वैवाहिक जीवन मधुर बनोस् भनी स्वस्थानी मातासँग विशेष प्रार्थना गरेका छन्। विशेषगरी महिलाहरूले श्रद्धा र नियमपूर्वक व्रत बस्दै कथा श्रवण गर्ने परम्परालाई निरन्तरता दिएका थिए, जसले सामाजिक र पारिवारिक एकतालाई समेत मजबुत बनाएको विश्वास गरिन्छ।

धार्मिक मान्यताअनुसार स्वस्थानी व्रतकथाले मानिसलाई संयम, भक्ति, सत्य र कर्मको महत्व बुझाउने शिक्षासमेत दिन्छ। दैनिक जीवनमा धैर्य र सकारात्मक सोच अपनाउन प्रेरित गर्ने यो पर्वले आत्मशुद्धि र नैतिक जीवनशैलीको सन्देश फैलाएको धार्मिक जानकारहरू बताउँछन्।

फोटो : न्युज एजेन्सी नेपालका फोटो पत्रकार अनुप प्रधान