सियोल, माघ १४ । उत्तर कोरियाली नेता किम जोङ उनले आगामी सत्तारूढ मजदुर पार्टीको सम्मेलनमा देशको आणविक प्रतिरोध क्षमता थप सुदृढ पार्ने योजना सार्वजनिक गरिने बताएका छन् ।
राज्य सञ्चार माध्यम कोरियन सेन्ट्रल न्युज एजेन्सी (केसिएनए) का अनुसार किमको उपस्थितिमा अपग्रेड गरिएको लार्ज–क्यालिबर मल्टिपल रकेट लन्चर प्रणालीको लाइभ–फायर अभ्यास गरिएको हो । उक्त गतिविधिलाई दक्षिण कोरिया र जापानले प्रारम्भमा ब्यालेस्टिक मिसाइल प्रक्षेपणका रूपमा उल्लेख गरेका थिए ।
किमले सैन्य शक्ति मजबुत बनाउनु पार्टीको अपरिवर्तनीय दायित्व भएको उल्लेख गर्दै सम्मेलनले आणविक प्रतिरोधलाई अर्को चरणमा लैजाने योजना तय गर्ने जनाएका छन् । फेब्रुअरीमा सुरु हुने अपेक्षा गरिएको उक्त सम्मेलनलाई उत्तर कोरियाको प्रमुख राजनीतिक कार्यक्रमका रूपमा लिइएको छ ।
