विश्वभरका इस्लाम धर्मावलम्बीहरूको महान् धार्मिक पर्व रमजान सुरु भएको छ। एक महिनासम्म चल्ने यो पवित्र अवसरमा मुस्लिम समुदायले उपवास बस्ने, प्रार्थना गर्ने र आत्मशुद्धिको अभ्यास गर्ने परम्परा निर्वाह गर्छन्।

रमजान इस्लामिक पात्रोअनुसार नवौं महिना हो, जसलाई अत्यन्त पवित्र मानिन्छ। विश्वास गरिन्छ कि यही महिनामा पवित्र ग्रन्थ कुरान अवतरण भएको मानिन्छ । त्यसैले यो महिना आध्यात्मिक साधना, संयम र परोपकारका लागि विशेष महत्व राख्छ।

रमजान अवधिभर मुस्लिमहरू बिहान सूर्योदयअघिदेखि सूर्यास्तसम्म निराहार बस्छन्। बिहानको भोजनलाई ‘सहरी’ र साँझ उपवास तोड्ने समयलाई ‘इफ्तार’ भनिन्छ। दिनभर भोजन, पानी तथा अन्य भौतिक सुख–सुविधाबाट टाढा रहँदै आत्मअनुशासन, धैर्य र सहिष्णुताको अभ्यास गरिन्छ।

यो महिनामा मस्जिदहरूमा विशेष नमाजको आयोजना गरिन्छ। राति पढिने विशेष नमाज ‘तरावीह’मा ठूलो संख्यामा श्रद्धालु सहभागी हुन्छन्। साथै, दान–पुण्यलाई पनि विशेष महत्व दिइन्छ। गरिब तथा विपन्न वर्गलाई सहयोग गर्ने उद्देश्यले ‘जकात’ र ‘सदक़ा’ वितरण गर्ने परम्परा छ।

रमजानको अन्त्यपछि ‘ईद उल फित्र’ मनाइन्छ, जुन खुसी र आपसी सद्भाव साटासाट गर्ने पर्व हो। एक महिनाको संयम र साधनापछि परिवारजन तथा समुदाय एकसाथ भेला भई नमाज अदा गर्ने, शुभकामना आदान–प्रदान गर्ने र मिठाई बाँड्ने परम्परा रहेको छ।

नेपालसहित विश्वका विभिन्न मुलुकमा बसोबास गर्ने मुस्लिम समुदायले रमजानलाई श्रद्धा, अनुशासन र सामाजिक एकताको प्रतीकका रूपमा मनाउने गरेका छन्।