न्युजिल्याण्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनले अन्तर्राष्ट्रिय घटनाक्रमले देशभित्र प्रत्यक्ष असर पारिरहेको बताएका छन् । सामाजिक सञ्जालमार्फत जानकारी दिँदै उनले इरानसँग सम्बन्धित द्वन्द्वका कारण इन्धनको मूल्यमा प्रभाव देखिन थालेको उल्लेख गरेका हुन् ।
प्रधानमन्त्रीले वर्तमान परिस्थितिमा सरकार जिम्मेवार आर्थिक तथा वित्तीय व्यवस्थापनमा प्रतिबद्ध रहेको स्पष्ट पारेका छन्। उनले न्युजिल्याण्डसँग पर्याप्त इन्धन भण्डारण रहेको र सम्भावित चुनौती सामना गर्न देश तयार अवस्थामा रहेको बताएका छन् ।
लक्सनका अनुसार देशको अर्थतन्त्र सुधारतर्फ उन्मुख रहेको छ। आर्थिक वृद्धि भइरहेको, मूल्यवृद्धि दर र ब्याजदर घट्दै गएको तथा सरकारी खर्च व्यवस्थापन सुधार हुँदै गएको छ ।
अन्तर्राष्ट्रिय संकटको असर आम नागरिकले महसुस गर्न थालेको स्वीकार्दै प्रधानमन्त्रीले आवश्यक इन्धन तथा अन्य अत्यावश्यक वस्तुको आपूर्ति सुनिश्चित गर्न विभिन्न देशहरूसँग समन्वय भइरहेको बताएका छन्।
यसैबीच सरकारको तर्फबाट वित्तमन्त्री निकोला विलिसको नेतृत्वमा मन्त्रीस्तरीय समन्वय समूह गठन गरिएको छ। उक्त समूहले आवश्यक परेमा छिटो निर्णय लिन सक्ने विकल्पहरू तयार गरिरहेको जनाइएको छ।
प्रधानमन्त्रीले विश्व अस्थिर बन्दै गएको सन्दर्भमा यस्ता चुनौतीहरू आउन सक्ने उल्लेख गर्दै सरकारले जीवनयापन खर्च घटाउन, रोजगारी सिर्जना गर्न र आम्दानी बढाउन केन्द्रित नीतिहरू अघि बढाइरहेको बताएका छन्। साथै सम्भावित आर्थिक झट्काको सामना गर्न देशलाई तयार अवस्थामा राख्न सरकार प्रतिबद्ध रहेको उनले स्पष्ट पारे।
