एउटा चिसो नोभेम्बरको साँझ थियो। धनी बैंकरको ठूलो महलमा भव्य पार्टी चलिरहेको थियो। मदिराको गिलासहरू ठोक्किँदै थिए, हाँसोको आवाज गुञ्जिरहेको थियो। तर कुराकानी अचानक गम्भीर बन्यो — मृत्युदण्ड र आजीवन कारावास मध्ये कुन बढी क्रूर छ?
बैंकरले आफ्नो गिलास उठाउँदै जोड दिएर भने,
“मृत्युदण्ड नै राम्रो हो! यो त एक झट्कामा सबै सकिन्छ। तर आजीवन कैद? त्यो त बिस्तारै–बिस्तारै मार्ने यातना हो। मानिसलाई जीवित लाश बनाइदिन्छ!”
अर्कोतिर टेबलको छेउमा बसेका एक युवा वकिलले शान्त तर दृढ स्वरमा विरोध गरे,
“दुवै नै क्रूर छन्, तर मृत्युदण्डभन्दा आजीवन कैद धेरै राम्रो छ। जस्तोसुकै भए पनि जीवन नै जीवन हो। जिउनु भनेको नै सबैभन्दा ठूलो मूल्य हो। मर्नुभन्दा जिउनु सधैं राम्रो!”
यो कुराले सबैलाई हलचल मच्चायो। बहस तात्यो। र अन्ततः उनीहरूबीच एउटा असाधारण सट्टेबाजी भयो।
वकिलले चुनौती दिए,
“म १५ वर्षसम्म पूर्ण एकान्तवासमा बस्न सक्छु। कसैसँग बोल्नु, देख्नु, सुन्नु हुँदैन।”
बैंकर हाँस्दै भने,
“ठीक छ! यदि तिमीले यो साँच्चै गरे भने, म तिमीलाई दुई मिलियन रुबल दिन्छु। तर यदि बीचमै हार्यौ भने… केही पनि पाउँदैनौ।”
वकिलले आँखामा आगो बोकेर सहमति जनाए।
अर्को दिनदेखि नै वकिल बैंकरको बगैंचाको एउटा सानो, सुनसान लजमा बन्दी बनाइयो। ढोका बाहिरबाट ताल्चा लगाइयो। कसैसँग कुरा गर्न पाइन्न। तर उसलाई चाहिने सबै कुरा दिइयो — किताबहरू, पेन, कागज, संगीत, स्वादिष्ट खाना, मदिरा, चुरोट… केवल मानिसको आवाज र अनुहार मात्र होइन।
पहिलो वर्ष ऊ हल्का मनोरञ्जनमा डुब्यो — रोमान्टिक उपन्यास, रोमाञ्चक कथा, हल्का किताबहरू।
दोस्रो वर्ष उसले भाषा सिक्न थाल्यो। एकपछि अर्को — छ वटा भाषामा पारंगत भयो!
त्यसपछि उसको भोक बढ्यो। क्लासिक साहित्य, इतिहास, दर्शन, विज्ञान… हजारौं किताबहरू निल्यो।
अन्तिम वर्षहरूमा ऊ गहिरो आध्यात्मिक संसारमा हरायो — बाइबल, कुरान, वेद, बौद्ध ग्रन्थ… संसारको सबै ज्ञान उसको दिमागमा भरियो।
अन्तिम रातको रहस्य
१५ वर्ष पूरा हुन लाग्दा बैंकरको हालत दयनीय भइसकेको थियो। उसको सम्पत्ति घट्दै गएको थियो। दुई मिलियन रुबल दिनु भनेको उसलाई पूर्ण रूपमा बर्बाद बनाउनु थियो।
रातको अँध्यारोमा उसले एउटा भयानक योजना बनायो — वकिललाई मारिदिने। उसले चुपचाप लजमा प्रवेश गर्यो।
तर कोठामा वकिल थिएनन्। टेबलमा एउटा पत्र थियो।
बैंकरले काँप्दै पत्र खोल्यो। वकिलको हस्तलेखनमा लेखिएको थियो:
“मैले यी १५ वर्षमा संसारको सबै ज्ञान हासिल गरें। किताबहरूले मलाई देखाए कि धन, सुख, प्रेम, प्रसिद्धि, ज्ञान — सबै क्षणिक छन्, सबै व्यर्थ छन्। मानिसहरूले स्वर्ग छोडेर यो पृथ्वीमा आएर ठूलो सट्टेबाजी गरेका छन्। मलाई यो सबै हाँसउठ्दो लाग्छ।
तिम्रो दुई मिलियन रुबल मलाई चाहिँदैन। म यो सट्टेबाजी हार्न चाहन्छु। म समयभन्दा पाँच घण्टा अगाडि नै यो कालकोठरी छोड्छु।”
बैंकरको आँखा रसाए। ऊ भावुक भयो। ऊले वकिलको टाउकोमा मायाले चुम्बन गर्यो (जो त्यहाँ थिएनन् पनि) र चुपचाप बाहिर निस्कियो।
बिहान जब ढोका खोलियो — लज खाली थियो। वकिल साँच्चै भागिसकेका थिए।
सट्टेबाजी हारेको थियो वकिलले… तर जितेको थियो जीवनको गहिरो सत्यले।
** **
(यो मेरो कथा होईन। यो बिश्व ख्याति प्राप्त कथाकार अन्तोन चेखवको कथा हो।)
(२)
काँग्रेस सभापति गगन थापा जी, यस्तो काँग्रेस न बनाउनु होलाः
तीस वर्ष भइसक्यो कांग्रेस बिभिन्न सत्तामा छ । कहिले कांग्रेसले बधाई पाईरह्यो, कहिले बधाई र काँग्रेस दुवै संगसंगै अगाडि बढ्यो । कहिले दुवै साथै अगाडि बढ्न सकेनन् । अनि काँग्रेसलाई पछाडी छोडेर देशको युवा पुस्ता अगाडि बढ्यो, कांग्रेस पछाडि रह्यो।
यी वर्षहरूको यात्रा कांग्रेसको ‘जन्मयात्रा’ हो, खद्दर भण्डारबाट सुरु भई सचिवालयमा टुंगियो। सरकारी कर्मचारीले जे लेखे र विधानसभाका सदस्यहरूले पढे।
पोस्टकार्डहरू, किताबहरू, सिनेमाका स्लाइडहरू, शहरमा यत्रतत्र देखिने होर्डिंग बोर्डहरू सबै तिर काँग्रेस । कुरा यति हो कि देशको यात्रामा कांग्रेसको नाम सहयात्री भयो । रेडियो, साना डकुमेन्ट्रीहरू, सरकारी बैठकहरू र सम्मेलनहरूमा एउटै गुञ्जन थियो र त्यो कांग्रेसकै थियो । काँग्रेस हाम्रो बानी बनिसक्यो।
स्वतन्त्रता पाउँदै गर्दा कांग्रेसलाई थाहा भयो कि खादीको कपडा मोटो र खस्रो छ । आज खादी पहिरन गरिने शरीरहरू भने निकै नरम र कोमल छ। त्यसैले काँग्रेसले निर्णय गर्यो कि खादीलाई पनि रेशममा बदलिदिनुपर्छ।
कांग्रेसका कार्यकर्ताहरूलाई ब्रिटिश जेलहरूमा निकै कष्ट भोग्नुपर्यो, उनीहरूलाई ढुङ्गा र सिमेन्टका चिसो छिडीमा सुत्न लगाइयो। स्वतन्त्रतापछि राम्रो गुणस्तरको कपासको उत्पादन बढाइयो। ती कपासबाट मोटा चकटी, गद्दी र बिस्तराहरू बनाईयो । कांग्रेसका कार्यकर्ताहरूले तिनैमा बसेर देशका समस्याहरूको चिन्तन गर्न थाले।
देशमा धेरै समस्याहरू थिए। कांग्रेस पनि तेसको अध्ययन गरिरहेको थियो। एक तेस्तो दिन यस्तो पनि आयो जब समस्याहरू कांग्रेस बने र कांग्रेस स्वयं समस्यामा रूपान्तरित भयो ।
तीस वर्षसम्म देशले प्रयास गर्यो कि कांग्रेस के हो बुझियोस, यहाँसम्म कि कांग्रेसकै कार्यकर्ताहरूलाई पनि थाहा भएन कि कांग्रेस के हो? मानिसहरूले कांग्रेसलाई ‘ब्रह्मा’का झैं नियतिको रूपमा बुझे।
जो दायाँ छैन, त्यो कांग्रेस हो। जो बायाँ छैन, त्यो कांग्रेस हो। जो बीचमा छैन, त्यो कांग्रेस हो। जो बीचको बायाँ छ, त्यो कांग्रेस हो।
कांग्रेसका जति रूपहरू छन्, त्यति रूपहरू मानव शरीरका पनि हुँदैनन्। कांग्रेस हरेक ठाउँमा छ, हरेक कुर्सीमा, हरेक कुर्सीको पछाडि, हरेक कुर्सीको अगाडि उभिएको छ। हरेक सिद्धान्त कांग्रेसको सिद्धान्त हो। समाजवाद, प्रजातान्त्रिक समाजवाद, पूँजीवाद, उदारवाद, लोक कल्याणकारी सबै काँग्रेसको बिचार भयो । ऊ समाजवादको समर्थक थियो तर पूँजीवादलाई गुनासो गर्ने मौका दिएन। उसले निजी क्षेत्रलाई सार्वजनिक क्षेत्र विरुद्ध उभ्याएर आफु दुवैको बीचमा उभियो ।
तीस वर्षसम्म कांग्रेसले यी सबै सिद्धान्तहरूमा सन्तुलनको नीति कायम राख्यो। उसले जे भन्यो त्यो गरेन, जे गर्यो त्यो बताएन र जे भन्यो त्यो गलत भयो।
उसले जंगल फँडानी गर्यो । बृक्षारोपण दिवसहरू मनायो । राहत दियो तर फेरी कर बढायो। उसले मदिराको ठेक्का दियो। मदिराका कारखाना खोल्यो । तर मदिरा निषेधको समर्थन पनि गर्यो ।
देशमा जब समस्याहरू उठे तब आयोगहरू बनाइए । प्रतिवेदनहरू आए तर पढिएनन् । कांग्रेसको इतिहास निरन्तर सन्तुलनको इतिहास हो।
जो केन्द्रमा अयोग्य थिए, उनीहरूलाई प्रदेशमा पठाइयो। जो प्रदेशमा अयोग्य थिए, उनीहरूलाई केन्द्रमा ल्याइयो। जो दुवै ठाउँमा अयोग्य थिए, उनीहरूलाई राजदूत बनाइयो। उनीहरूले देशको प्रतिनिधित्व गर्न थाले र एकतामा वृद्धि गरे। उनीहरू आपसमा लडिरहे।
उनीहरू जातिवादको विरोध गर्थे तर आफ्नो जातिको सधैं ख्याल राख्थे। उनीहरू प्रार्थना सुन्दथे र बिर्सन्थे। उनीहरू आश्वासन दिन्थे तर पूरा गर्दैन्थे।
जब आश्वासन पूरा गरे, फेरी आफै सन्तुष्ट भएनन् । ऊ मेहनतमा जोड दिन्थ्यो। ऊ सम्मान लिइरहन्थ्यो। ऊ जनताको कुरा सुनिरहन्थ्यो । ऊ अधिकारीहरूमाथि हावामा जस्तै विश्वास गर्थ्यो।
उनीहरूको राम्रो र नराम्रो दुवै दोष बन्यो। उनीहरूका दोषहरू रहि रह्यो । गुणहरू फिक्का भयो जबसम्म पक्षपात, अनिर्णय, ढिलासुस्ती, दोहोरो मापदण्ड, पूर्वाग्रह, ढोंग, सस्तो महत्वाकांक्षा र अरू रहन्छन् । यो देशबाट कांग्रेसलाई कसैले हटाउन सक्दैन। कांग्रेस रहनेछ। दायाँ, बायाँ, बीच, बीचको बायाँ । संक्षेपमा तपाईं जुनसुकै रूपमा कांग्रेस देख्नुहुनेछ।
काँग्रेसका बिरूद्ध यस देशमा जो आउँछ, त्यो अन्त्य सम्ममा आफै, स्वयं कांग्रेस बन्छ। समाजवादीहरू, प्रगतिशिल भनिनेहरू र कम्युनिष्ट पार्टीहरू पनि अन्त्यसम्म कांग्रेस बनेको छ । सबै अन्ततः कांग्रेस बन्नेछ।
** **
(यो पनि मेरो लेखन होईन। शरद जोशी भारतका सुप्रसिद्ध व्यंगकार हुन्। सन् १९७७ मा इन्दीरा गांधीलाई संकेत गर्दै जोशीले यो राजनीतिक व्यंग लेखेको हुन्। माथीका दुबै नेपालीमा भावानुवाद हो।) जयप्रकाश आनन्दले आफ्नो फेसबुक पेजमा लेखिएको लेख
